• २८ मङ्सिर २०८२, आइतबार

विपत् प्रभावितका घर पुनर्निर्माण

blog

निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण गर्नुहुँदै बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतलगायत ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, मङ्सिर २८ गते   । बाढीपहिरोलगायतका विपत्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपत्पीडितका नयाँ घर पुनर्निर्माण भएको छ । 

विपत्जन्य घटनाले घरबास गुमाएकामध्ये हाल ६० घरपरिवार लाभग्राहीको स्थायी आवास पुनर्निर्माण भएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । २०७७ सालमा सो नगरको वडा नं. ५ जम्बु ठाडोखोलामा भीषण बाढीपहिरो आएर घरबास बगाएका र २०७८ भदौमा सोही नगरको वडा नं. ७ स्थित नागपुजे, टङसारमा घरबास गुमाएका पीडितमध्ये ६० घरपरिवारको नयाँ स्थायी आवास पुनर्निर्माण भएको प्रमुख बस्नेतले बताउनुभयो । 

विपत्जन्य घटनाबाट घरबास गुमाएकामध्ये ६० घरधुरीलाई प्रमुख बस्नेतले शुव्रmबार पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र वितरण गर्नुभएको छ । ४६ घरपरिवारलाई स्थायी आवास पुनर्निर्माणका लागि जग्गा खरिदसहित आठ लाख र १४ घरपरिवारलाई स्थायी आवास पुनर्निर्माणका लागि पाँच लाख रुपियाँ उपलब्ध गराएपछि विपत्पीडितले नयाँ स्थायी आवास पुनर्निर्माण गरेको नगरप्रमुख बस्नेतले बताउनुभयो । 

बाह्रबिसे नगरपालिकाले २० प्रतिशत रकम तथा प्राविधिक सहयोग र बाँकी रकम सरकारले उपलब्ध गराएपछि विपत्जन्य घटनाबाट घरबास गुमाएका पीडितका नयाँ घर निर्माण भएको हो । २०७७ सालयता मात्रै बाह्रबिसे नगरपालिकामा मनसुनजन्यलगायतका विपत्बाट ५१ जनाको मृत्यु र सयौँ घरधुरी बगाएको तथ्याङ्क छ । नगरप्रमुख बस्नेतले विपत्मा परेका पालिकावासी कोही पनि घरबासविहीन हुनु नपर्ने बताउनुभयो ।