• १२ साउन २०८१, शनिबार

लेखक, पाठक र पुस्तक

blog

विद्वान्हरूले साहित्यलाई विभिन्न रूपले व्याख्या एवं परिभाषित गरेका छन् । ग्रिक दार्शनिक प्लेटोले उनको पुस्तक ‘दी रिपब्लिक’ मा बताए अनुसार साहित्यमा वर्णित संसार सत्यबाट टाढा हुन्छ भनेका छन् र उनी साहित्यलाई सत्यको नक्कल (माइमेसिस) ठान्दछन् । उनका अनुसार साहित्य भुलभुलैया उत्पन्न गर्ने निरर्थक भ्रम हो । उनले सबैभन्दा बढी भ्रम सिर्जना गर्ने व्यक्तिमा कवि पर्ने भएकाले उनीहरूलाई त देश निकाला नै गर्नुपर्ने विचार राखे । जब कि उनैका चेला एरिस्टोटलले सत्यको नक्कल गर्न सक्नुलाई पनि ठुलो क्षमता ठाने । उनी साहित्य सत्यबाट टाढा भए पनि समाजका लागि उपयोगी वस्तु भएको विश्वास गर्छन् । उनका अनुसार साहित्यमा खास गरी वियोगान्त नाटकहरूले मानवका गुम्सिएर रहेका भावनालाई निकास दिएर शुद्धीकरण (कथार्सिस) को काम गर्छन् । 

हेगेलका अनुसार साहित्य समाजको सांस्कृतिक एवं ऐतिहसिक विकासको अभिव्यक्ति हो र यसले समाजलाई एकताबद्ध बनाई व्यक्तिलाई गहन दार्शनिक चिन्तनतर्फ लाग्न प्रेरित गर्छ । त्यस्तै कान्टले साहित्यलाई चरम सौन्दर्यको अनुभूति गराउने माध्यम मान्दछन् भने नित्सेले साहित्यलाई उच्चस्तरीय अपोलोनिएन सौन्दर्य र डाएनोसिएन कुरूपताबिचको सन्तुलन भनेका छन् । सिग्मन्ड फ्रायडले साहित्यलाई प्रस्ट परिभाषित नगरे पनि उनको ‘सिर्जनशील लेखक र दिवा सपना’ (१९०८) नामक पुस्तकले मानव मनोविज्ञानलाई सूक्ष्म रूपमा व्याख्या गर्छ । उनका अनुसार एउटा लेखकले साहित्यमार्फत आफ्ना अपरिपूर्ण अवचेतन इच्छाहरूलाई अभिव्यक्त गरिरहेको हुन्छ । त्यसैले साहित्य अवचेतन मनको चिन्ता, कुण्ठा, आन्तरिक द्वन्द्व तथा असीमित अव्यक्त चाहनाहरूको प्रकटीकरण हो । उता माक्र्सवादीहरू साहित्यलाई समाजको दर्पण ठान्दछन् । उनीहरूका अनुसार  समाजमा जे छ, त्यही वस्तु नै साहित्यभित्र देखिन्छ । बरु उनीहरू समाज वर्गीय चरित्रको हुने कुरा गर्छन्, जहाँ यी वर्गहरूको बिचमा जीविका एवं शक्तिका लागि एकापसमा द्वन्द्वात्मक सम्बन्ध हुने हुँदा साहित्यमा त्यही कुरा झल्किन्छ भन्छन् ।  

सामाजिक यथार्थ साहित्यमा वर्णित हुँदा त्यसमा सजावटका पक्ष पनि थपिएका हुन्छन् । साहित्यिक अलङ्कारहरूले समाजको स्वरूपलाई साहित्यभित्र सिँगारेको हुन्छ । त्यसैले साहित्यिक ऐनामा देखिने समाजको स्वरूप वास्तविकताभन्दा झनै सुन्दर देखिन्छ । साहित्यको विकास हुने व्रmममा विभिन्न साहित्यकारले साहित्यको उद्देश्य वा यसको सामाजिक प्रभावलाई फरक फरक ढङ्गबाट बुझे र त्यसको व्याख्या गरे । कसैले समाज र साहित्यलाई एकआपसमा फरक चिज हुन् भन्ने सोचे भने रुसो, होरेस, जोन मिल्टन, एलेकज्यान्डर पोप, स्याम्युएल जोन्सन, डिकेन्स जस्ता दार्शनिकले साहित्यको सामाजिक उपयोगितावादमा जोड दिए । 

यस्तै ओस्कर वाइल्ड, वाल्टर पेटर, एड्गर अलान पो, बौडिलर जस्ता चिन्तकले  यसलाई उपदेशात्मक पक्षबाट टाढा राखिनुपर्ने पक्षमा जोड दिए र यसलाई केवल एक कलाका रूपमा मात्र चित्रित गर्नु पर्छ भन्ने मान्यता राखे । त्यस्तै साहित्यभित्र हुने अर्थ भेट्टाउनका लागि टिएस इलिएट, स्टेफेन ग्रिन्ब्लाटलगायत डब्लुके विम्स्याट जस्ता  समालोचकले लेखकको व्यक्तिगत जीवनी, उसको सामाजिक, आर्थिक, ऐतिहासिकलगायतका पक्षको जानकारीलाई अत्यन्त आवश्यक तŒव ठाने भने कसैले लेखकको बारेमा दिइने जानकारी र उक्त लेखकको समकालीन विकासव्रmमले साहित्यको यथार्थ जानकारी गराउन बाधा पु¥याउने पक्षतर्फ औँल्याए । अङ्ग्रेजी साहित्यमा नवसमालोचकहरूले लेखकको मृत्युको घोषणा गरे भने एउटा साहित्यिक कृतिलाई लेखकबाट मुक्त बनाई यसमा भएको अर्थ भेट्टाउने जिम्मा पाठकलाई दिए । यस्तो कदमको अर्थ वा उद्देश्य के थियो भने लेखकको व्यक्तिगत स्वभाव, ऐतिहासिक काल जस्ता विभिन्न पक्षबाट एउटा लेखक मुक्त भएमा मात्र त्यसको सही अर्थ पाठकले भेट्टाउन सक्छन् । अन्यथा विविध पक्षको उपस्थितिले साहित्यको सही अर्थलाई नै अनुपस्थित गराइदिन सक्छ । नवसमालोचनाका प्रवर्तक आइए रिचर्ड्सले आफ्ना विद्यार्थीमाझ एउटा प्रयोग गरेका थिए । उनले आफ्ना विद्यार्थीलाई एउटा पाठ पढ्न दिएर त्यसको समालोचना गर्ने व्रmममा एक पल्ट लेखकको चिनारीसहितको पाठ वितरण गरेका थिए भने अर्को पल्ट लेखकको चिनारीबिनाको कुनै पाठ÷अंश वितरण गरी समालोचना गर्न भनेका थिए । उनको प्रयोगबाट के पत्ता लाग्यो भने लेखकको चिनारीबिनाको पाठलाई उनका विद्यार्थीले सन्तोषजनक रूपमा लामो व्याख्या गरेका थिए । यस घटनाबाट रिचर्ड्स यो निष्कर्षमा पुगे कि लेखकको ऐतिहासिक, आर्थिकलगायतका जानकारीले विद्यार्थी वा पाठकलाई पाठले बोलेका कुराभन्दा पनि बढ्ता अनुमान, अड्कल लगाई उनीहरूको व्याख्या यथार्थबाट टाढा बहकिएको थियो । त्यस्तो व्याख्यामा लेखकको जानकारीले कृतिको अपव्याख्यासमेत गरेको पाइएकाले लेखकको भूमिका साहित्यमा अनावश्यक ठानियो । 

विभिन्न कालखण्डमा धर्म र साहित्यमा एकाधिकार अन्त्य गर्न लेखक वा समालोचकले लेखककोे अन्त्यको घोषणा गरेका  छन् । रोलावाथ भन्ने लेखकले  ‘लेखकको मृत्यु’ भन्ने शीर्षकको निबन्धमा लेखेका छन्, “जब एउटा लेखकले केही लेखिसक्छ, त्यसपछि त्यो लेखसँग उसको सम्बन्ध टुट्छ ।” लेखकको जीवनीलगायत विविध सामाजिक पक्षले साहित्यिक कृतिको अर्थ अनर्थमा बदलिन सक्ने भएकाले रोलावाथले लेखकको मृत्युको घोषणा गरेका हुन् । जब एउटा लेखकले कुनै कृति जन्माउँछ, उक्त कृति पाठकको हातमा पर्छ र लेखक आफैँ पनि त्यो कृतिको पाठक बन्दछ । उसले त्यस कृतिमाथि बोलेका वा लेखेका शब्दहरू नै त्यस कृतिका बारेमा गरिने मूल्याङ्कनका अन्तिम शब्दहरू बन्न सक्दैनन् । पाठकहरूका अनुसार विभिन्न ठाउँमा त्यसको भिन्न भिन्न अर्थ लाग्न सक्छ र ती सम्पूर्ण अर्थलाई कृतिकारले लेख्दाको बखत कल्पना नगरेको पनि हुन सक्छ । कृतिको फैलावट वा वितरणको सीमा यति चौडा हुन्छ कि सबै ठाउँमा कृतिकार आफैँ पुगेर कृतिलाई अथ्र्याउन सक्दैन र सके पनि उसको अर्थ सर्वमान्य हुन सक्दैन किनकि ऊ स्वयम् एउटा पाठक मात्र बनिसकेको हुन्छ । यस अर्थमा कृतिकार र कृति छुट्टाछुट्टै अस्तित्व हुन् । एउटाको सहायताले अर्कोलाई बुझ्ने प्रयास गरियो भने वास्तविक अर्थबाट हामी बहकिन सक्छौँ । त्यसैले जब एउटा लेखकले एउटा लेख जन्माउँछ, ऊ त्यस लेखमा उपस्थित भइरहन सक्दैन । ऊ त त्यहाँबाट अनुपस्थित भइसकेको हुन्छ र हुनै पर्छ ।

जहाँसम्म एउटा लेखकको कृतिमा उसकै अनुपस्थितिको कुरा छ, यसो भनिरहँदा लेखकले लेख्दाको बखत उसको कल्पनामा निश्चित पाठकहरूको तस्बिर त हुन्छ तर साहित्य समय र ठाउँको सीमा नाघेर धेरै टाढासम्म पुग्ने भएकाले ती सबै पाठकको कल्पना कृतिकारको दिमागमा हुँदैन । यस अर्थमा लेखकका अगाडि पाठकहरू पनि अनुपस्थित रहन्छन् । फेरि एउटा कुनै निश्चित समयमा एउटा कृतिको एक थरी अर्थ लगाइन्छ भने अर्को पुस्ताले त्यो साहित्यिक कृतिलाई अर्को ढङ्गले बुझ्न सक्छ । विलियम सेक्सपियरले १६ औँ शताब्दीको अन्त्य र १७ औँ शताब्दीको सुरुवाततर्फ लेखेका कृतिहरूको २१ औँ शताब्दीमा उही व्याख्या हुन सक्दैन किनभने पाठकले सेक्सपियरको ‘टेम्पेस्ट’ नाटकलाई त्यतिबेला औपनिवेशिक सार भएको नाटकका रूपमा अर्थ लगाएका थिए । पछि आएर त्यसलाई एउटा रोमान्टिक प्रेम अभिव्यक्तिका रूपमा व्याख्या गरियो । 

यसप्रकार एक युगविशेषका पाठकहरूले स्थापित गरेको साहित्यिक कृतिविशेषको अर्थ अर्को युगका पाठकसामु लाद्न सम्भव हुँदैन र भएन । त्यसो गरियो भने त्यहाँ फेरि लेखकको एकाधिकार पाठकमा सर्न गई पाठकहरू तानाशाही हुने खतरा हुन्छ । त्यसैले त मौरिस ब्ल्याको भन्ने समालोचकले लेखनलाई एउटा घटना मात्र भनेका छन्; जसमा लेखकले नयाँ अनुभूति सँगाल्ने सङ्घर्ष गरिरहेको हुन्छ । उनका अनुसार एउटा लेखकले कुनै पनि अर्थ बोक्दैन किनभने यो रित्ता र कसैले प्रयोग गरिसकेका शब्दहरूको मिलान मात्र हो । लेखमा प्रयोग गरिने शब्दहरू हाम्रा होइनन् र तिनीहरूले हाम्रो अवस्थालाई व्यक्त गर्न पनि सक्दैनन् किनकि यी शब्द त हामीले केही लेख्नु वा भन्नुअघि पनि थिए र पछि पनि हुने छन् । शब्दहरूमार्फत आफूलाई व्यक्त गर्नु र पाठकसामु जोड्ने प्रयास नै निरर्थक प्रयास हो । जब हामी लेख्छौँ, लेख्दाको सामु पाठकहरू हाम्राअघि अनुपस्थित रहन्छन् र लेखनको अन्त्यमा लेखक स्वयं पनि मर्ने वा अनुपस्थित हुने हुनाले साहित्य एक दोहोरो अनुपस्थितिको उपज बन्दो रहेछ । साहित्यमा न कोही लेखक वा पाठक नै स्थायी बन्दछ । केवल साहित्य अनेकौँ पाठकलाई अवलोकन गर्न लालायित गर्दै बाँचिरहन्छ र समयको अन्तरालमा विविध पाठकको चेतनाको क्षितिजसँग विभिन्न अर्थ बोक्दै अघि बढ्दो रहेछ ।