• १२ साउन २०८१, शनिबार

अर्बपतिको विवाह समारोहमा कार्दासियन दिदीबहिनी भारतमा

blog

 मुम्बई, असार  २८ गते । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो । 

अम्बानीका कान्छा छोरा अनन्त र उहाँकी २९ वर्षीया मङ्गेतर राधिका मर्चेन्टले महिनौँको पार्टीहरूपछि साताको अन्त्यमा वित्तीय राजधानी मुम्बईमा विवाह बन्धनमा बाँधिनुअघि वैवाहिक फजुल खर्चमा नयाँ मापदण्ड स्थापित गर्नुभएको छ । 

यसअघिका समारोहहरूमा एक हजार दुई सय पाहुनाका लागि युरोपेली क्रुज, अम्बानी परिवारको पैतृक घरमा उद्देश्य–निर्मित हिन्दू मन्दिर र आर एन्ड बि स्टार रिहाना तथा क्यानाडाका जस्टिन बिबरको निजी प्रदर्शन सामेल थिए । 

प्रसिद्ध विदेशी भिआइपीहरूमा कार्दासियनको उपस्थिति लामो पङ्क्तिमा सबैभन्दा नयाँ हो । दिदी किमले इन्स्टाग्राममा ‘स्टोरी’ साझा गर्नुभएको छ । यसमा उहाँको आगमनलगत्तै उहाँको कारलाई भारतीय फोटोग्राफरहरूले घेरेको र दुवै दिदीबहिनीले उहाँहरूको लक्जरी होटलमा कर्मचारीहरूबाट फूलको माला प्राप्त गरिरहेको देखाइएको छ । 

अम्बानी परिवारको समूहको स्वामित्व रहेको विशाल सम्मेलन केन्द्रमा अभिनेता जोन सेनालगायत सेलिब्रिटी पाहुनाहरूले कार्यक्रम स्थल पुगेपछि रेड कार्पेटमा क्यामेराका लागि पोज दिनुभएको थियो । 

बेलायतका पूर्वप्रधानमन्त्रीद्वय बोरिस जोनसन र टोनी ब्लेयरलाई पनि शुक्रबार सुरु हुने पार्टीअघि मुम्बई विमानस्थलमा पत्रकारहरूले देखेका थिए । 

जुनमा दम्पती चार दिने भूमध्यसागरीय क्रुजमा निस्कँदा गायिका केटी पेरीले कान्सको फ्रान्सेली च्याटोमा मास्करेड बल प्रदर्शन गर्नुभएको थियो । ब्याकस्ट्रिट ब्याइज, अमेरिकी र्र्यार पिटबुल र इटालेली टेनर एन्ड्रिय बोसेलीले पनि मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

यसअघिका गालाहरूमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काका साथै भारतीय खेल तथा मनोरञ्जन जगत्का दिग्गजहरू पनि सहभागी हुनुहुन्थ्यो । 

यो साताको भव्य उत्सवहरूमा अझै धेरै सेलिब्रिटी, राजनीतिज्ञ र विश्वव्यापी व्यापारिक सभ्रान्तहरूले मनसुन प्रभावित मुम्बईको भ्रमण गर्दैछन् ।

आयोजना स्थल वरपरका धेरै प्रमुख सडकहरूलाई अधिकारीहरूले अधिकांश सप्ताहन्तका लागि सर्वसाधारणका लागि बन्द गरेका छन् । 

शुक्रबार १६ हजार व्यक्ति अट्ने स्थलमा मुख्य औपचारिक समारोह हुनेछ । शनिबार छुट्टै ‘आशीर्वाद समारोह’ र आइतबार भव्य स्वागत समारोह हुनेछ ।

एक खर्ब २३ अर्ब डलर सम्पत्ति

अनन्तका बुबा मुकेश परिवारले स्थापना गरेको समूह रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुनुहुन्छ । यो मार्केट क्यापका हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनीमा परिणत भएको छ । 

फोर्ब्सका अनुसार एक खर्ब २३ अर्ब डलरभन्दा धेरै सम्पत्तिसहित अम्बानी पुरुष संसारमा विश्वको ११औँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँले सन् २०१८ मा आफ्नी छोरीका लागि भारतमा अहिलेसम्मकै सबैभन्दा महँगो विवाह समारोह आयोजना गर्नुभएको थियो । उक्त विवाहमा एक अर्ब डलर खर्च भएको थियो र समारोहमा अमेरिकी गायिका बेयोन्सले प्रस्तुति दिनुभएको थियो । 

अम्बानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सहयोगी समेत हुनुहुन्छ । उहाँलाई तेल, ग्यास र पेट्रोकेमिकल्समा फराकिलोरूपमा फस्टाउँदै गरेको औद्योगिक उद्यम विरासतमा प्राप्त भयो र उहाँले यसलाई व्यावसायिक दिग्गजका रूपमा विकसित गर्नुभयो । 

यसका आकर्षक चासोहरूमा अरमानी र अन्य लक्जरी ब्रान्डका साथ खुद्रा साझेदारी, भारतको मोबाइल फोन बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा र भारतीय प्रिमियर लिग क्रिकेट टोली समावेश छन् ।

उहाँको २७ तलाको पारिवारिक घर एन्टिलिया मुम्बईको सबैभन्दा प्रमुख स्थलमध्येको एक हो । छ सय सेवकहरूको स्थायी कर्मचारीका साथ उक्त घरको निर्माणमा  एक अर्ब डलरभन्दा बढी खर्च भएको छ ।

मर्चेन्ट प्रसिद्ध फर्मास्युटिकल मोगल (शक्ति, प्रभाव र सम्पत्ति भएको) की छोरी हुनुहुन्छ । रासस–एएफपी