• १६ भदौ २०८१, आइतबार

डोटीमा गहुँको उत्पादन घट्यो

blog

डिलबहादुर सिंह
डोटी, असार २८ गते ।
पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा गहुँ उत्पादनका लागि लगाइएको जमिनको क्षेत्रफल र गहुँ उत्पादन दुबै घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डोटीमा १२ हजार २९० हेक्टर क्षेत्रफल १७ हजार ४५२ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।

समयमा नै पानि नपरेर लगातारको खडेरी, पर्याप्त सिँचाइको अभाव, तरकारी खेती प्रतिको आकर्षण, जङ्गली जनावरले खेती नष्ट गर्ने प्रवृती, बाझो जमिन राख्ने क्रम  लगायतका कारण जिल्लामा गहुँ उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थी बताउनुभयो ।

निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, ‘‘लामो समयसम्म आकाशे पानी नपर्दा उच्च लेकाली भेगमा जमिन अत्याधिक सुख्खा भएका कारण पर्याप्त गहुँ उत्पादन हुन सकेको छैन । समय समयमा गहुँमा सुख्खा खडेरीका कारण सिन्दुरे रोग देखा पर्नु, जङ्गली जनावरले गहुँ बालीमा नोक्सानी गर्नु, ग्रामीण क्षेत्रमा भइरहेको बसाइसराई, वैदेशिक रोजगारीका लागि यूवा पलायन लगायतका कारण पछिल्लो समयमा गहुँको उत्पादन घट्दै गएको छ ।’’

जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खेती योग्य जमिन बाझो राख्ने क्रम समेत बढ्दै गएको छ । डोटी जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ हजार पाँच सय हेक्टरमा खेती खेति गरिँदै आएको बताइएको छ । पहिला पहिला गाउँघरमा जमिन बाझो राख्ने चलन थिएन । जङ्गल फडानी गरेर समेत गहुँ लगाउथ्यौं ।

डोटीको पूर्वीचौकी –२ बग्लेगका भिमबहादुर ठकुल्लाले भन्नुभयो, ‘‘आजभोली खेती गर्ने मान्छे पनि गाउँमा धेरै छैनन् । उत्पादन पनि त्यती हुँदैन । अरु नै खेती गरेर गहुँ किनेर खान फाइदा त्यही भए पनि हाम्रो तिर गहुँ उत्पादन घट्दै गएको हो ।’’