• १२ साउन २०८१, शनिबार

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित

blog

सडक डिभिजन कार्यालय, हेटौँडामा तालाबन्दी र धर्ना दिँदै निर्माण व्यवसायी सङ्घ मकवानपुरका पदाधिकारी तथा सदस्यहरु । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार २८ गते । सरकारी विकास निर्माणको काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । निर्माण व्यवसायी सङ्घ मकवानपुरले विभिन्न क्षेत्रमा निर्माणको काम गरेको तर भुक्तानी नपाएका व्यवसायी निकासा माग गर्ने क्रममा सडक डिभिजन कार्यालय हेटौँडामा शुक्रबार तालाबन्दी र धर्ना दिएको हो ।

सडक डिभिजन कार्यालय, हेटौँडामार्फत भएका कामको निकासा लागि माग गर्दै निर्माण व्यवसायी सङ्घ मकवानपुरले धर्ना र तालाबन्दी गरेको हो । सडक डिभिजन कार्यालय, हेटौँडा मातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको भुक्तानी नपाएपछि तीन जिल्लाका निर्माण व्यवसायी संयुक्त रुपमा धर्नामा बसेका थिए । 

निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानीका लागि माग गरे पनि लामो समयदेखि भुक्तानी नपाएपछि धर्ना र तालाबन्दी गरिएको जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीको माग तत्काल सम्बाेधन नभएमा थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताउनुभयो । 

उहाँले सडक डिभिजन कार्यालयलगायत, सरकारी कार्यालय र स्थानीय तहका ५० करोड रुपियाँभन्दा बढी निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो । काम गरेको बिलसहित भुक्तानीलाई अनुरोध गर्दासमेत विभिन्न बहानामा भुक्तानी नपाएको सङ्घका महासचिव राजेन्द्र चौलागाईँले बताउनुभयो । उहाँले आफ्नो लगानीमा काम गराइएपछि अहिले बिलसहित रकम माग्न जाँदा नपाएको बताउनुभयो ।