• १३ साउन २०८१, आइतबार

अझै खुलेन कर्णाली कोरिडोरको खच्चा खण्ड सडक

blog

कर्णाली कोरिडोरको हुम्ला खण्डमा अवरुद्ध भएको सडक र गाडी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २८ गते । जिल्लाभित्र पर्ने कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चा खण्डको सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएको ९ दिन बितिसक्दा पनि अवरुद्ध सडकको मर्मत कार्य नभएपछि सडक सुचारु हुन नसकेको हो । 

गत बिहीबार बेलुकाबाट शुक्रबार बिहानसम्म खच्चामा अवरुद्ध रहेको सडकलाई मर्मत गर्ने कार्य नगरिएको कारण यातायात सेवा बन्द भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । सडक कार्यालय बाजुराको कोल्टीले बिहीबार मेसिन लगाएर सडक मर्मत गर्न खोजे पनि भारी वर्षाको कारण काम गर्न नसकिएको उहाँले बताउनुभयो । 

त्यसैगरि सर्केगार्ड गाउँपालिका–४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ । शुक्रबारयता खार्पुनाथ गाउँपालिकाको सुनाखाडादेखि बोक्चे गौडासम्म सात स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । 

नौ दिनदेखि अवरुद्ध हुँदै आएको हुम्ला जिल्लामा पर्ने कर्णाली करिडोर लगाएतका आन्तरिक सडकहरु अझै खुल्न सकेका छैनन् । वर्षाको कारण सबै भन्दा पहिले सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाए पछि सडक अवरुद्ध हुन सुरु भएको थियो । पुल बगाएपछि सो खण्ड बन्द रहेको छ । 

त्यसैगरि आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट गाउँपालिकाको बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएको कारण सडक हिलाम्मे भएको छ । शुक्रबार बिहाननैबाट पुन वर्षा सुरु भइरहेको छ ।