• १२ साउन २०८१, शनिबार

बेनी-जोमसोम सडक अवरुद्ध

blog

रघुगंगा नदीमा आएको बाढीले कटान गरेको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार २८ गते । अविरल वर्षासँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वर पारी रघुगंगा गाउँपालिका ३ स्थित राहुघाट खण्डमा नदीले सडक कटान गरेर खसालेको छ । 

नदीले करिब २५ मिटर सडक कटान गरेको छ । सडक कटानका कारण जोखिम बढेपछि बेनी हुँदै गएका यातायातका साधन गलेश्वरमा रोकिएका छन्। यातायात अवरुद्ध हुँदा बेनी हुँदै म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ हिडेका यात्रुहरु गलेश्वरमा रोकिएका छन् ।  

रघुगंगा नदीको कटानले गायत्री मन्दिर समेत जोखिममा परेको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विहीबार रातीदेखि परेको अविरल वर्षका कारण रघुगंगा नदीमा ठूलो बाढी आएको छ । नदीमा आएको बाढीले सडक कटान गरेको छ । साथै गायत्री मन्दिर उच्च जोखिममा परेको छ ।’’ 

यसैगरी अविरल वर्षासँगै आएको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा पर्ने अधिकांश सडकमा पहिरो खसेको छ । पहिरोका कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपराइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । 

उहाँका अनुसार बैंसरी, सिरुवारी, भिरकाटे, दाना खण्ड लगायतका क्षेत्रमा सडकदेखि माथिबाट खसेको पहिरोका कारण यातायात पूणरुपमा अवरुद्ध बनेको छ । सडक खुलाउन शुक्रबार दिनभर लाग्ने उहाँले जानकारी दिनुभयो ।