• १२ साउन २०८१, शनिबार

कुलसचिवको जिम्मेवारी खोसियो

blog

दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय ।

लीलाधर वली 

घोराही, असार २७ गते । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीको जिम्मेवारी खोसिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले कुलसचिव अधिकारीको जिम्मेवारी खोसेर आफुले लिनुभएको हो । 

उपकुलपति प्रा.डा. लामिछानेले सोधेको स्पष्टीकरणको जबाफ चित्त बुझ्दो नआएको भन्दै विश्वविद्यालय सञ्चालन ऐनको दफा १६ को उपदफा १० अनुसार कुलसचिव अधिकारीको जिम्मेवारी आफुले लिनुभएको हो । 

उक्त व्यवस्था अनुसार उपकुलपतिले विश्वविद्यालयको क्षति हुने ठानेमा वा हानि हुने ठानेमा त्यो अधिकार प्रयोग गरी सदस्य सचिव पदको जिम्मेवारी आफैले राख्न पाउने अधिकार रहेको छ । 

उपकुलपतिले असार १४ गते कुलसचिवलाई हप्ता दिनको समय सीमा राखेर पाँच बुँदे स्पष्टीकरण सोध्नुभएको थियो । त्यसमा उपकुलपति लामिछानेले कुलसचिव अधिकारीमाथि विश्वविद्यालयको गोपनीयता भंग गरेकोदेखि आर्थिक अपचलन गरेकोलगायतका आरोप लगाउनुभएको थियो । त्यसको जवाफ कुलसचिव अधिकारीले असार २० गते पठाउनुभएको थियो । त्यसमा चित्त नबुझेको भन्दै पुनः उपकुलपति लामिछाने कुलसचिव लामिछानेलाई स्पष्टीकरण सोध्नुभएको थियो । तीन दिनभित्रमा जवाफ दिन भनिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि जिम्मेवारी खोसिएको बताउनुभएको छ । 

कुलसचिवमाथि उपकुलपतिले विश्वविद्यालयको गोपनीयता भंग हुने गरी बाह्य व्यक्तिहरूलाई माइन्यूट तथा सूचना दिएको, विश्वविद्यालयका डिन, कार्यकारी निर्देशक, प्राचार्यको नियुक्तिको विषयलाई लिएर सबैलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएका रिटमा पाइएका प्रमाणका आधारमा रिट निवेदककै तर्फबाट प्रस्तुत हुनु, अनुमति नै नलिई वा उपकुलपतिलाई पनि नसोधी आफूलाई नै सर्वेसर्वा ठानेर विश्वविद्यालयको काम कारबाही प्रभावित हुने गरी एक महिना बढी बिदा स्वीकृत गरेको, पदीय मर्यादा विपरीत कसैलाई नसोधि आर्थिक लाभकै लागि अनावश्यक रूपमा परीक्षाको अनुगमन, निरीक्षण र वा विभिन्न विद्यापिठहरूको भ्रमणहरू गरेको, पदीय मर्यादा विपरीत शिक्षाध्यक्षमाथि भौतिक आक्रमण गरेकोलगायतका आरोपहरु रहेका छन् ।