• १२ साउन २०८१, शनिबार

रेडक्रसको जग्गामा पूर्व अध्यक्षको रजाइँ

blog

रेडक्रसको जग्गा रोप्न राखिएको बीउको ब्याड । तस्बिर: हरिप्रसाद कोइराला

हरि कोइराला

उर्लाबारी, असार २७ गते । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको १९ कट्ठा जग्गा गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरियाले अनधिकृत रूपमा भोग चलन गरिरहेको भेटिएको छ । 

हाल सुन वर्षी नगरपालिका वडा नम्बर ६ को केरन्जामा रहेको उक्त जग्गाको आम्दानी १० वर्षयता जिल्लामा जम्मा नभएको जिल्ला अध्यक्ष सुबोधकुमार सिंहले बताउनु भयो । त्यसअघिको अभिलेख हेर्नुपर्छ, तर १० वर्षयता आम्दानी जम्मा भएको छैन ,अध्यक्ष सिंहले भन्नुभयो ।  राज्यर्पुनसंरचनापछि पनि रेडक्रस पुरानै राजनीतिक विभाजन अनुसार चलिरहेको छ । गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरिया वडा नम्बर ६ का पूर्व वडाध्यक्ष समेत हुनुहुन्छ ।

 नेपाल रेडक्रस सोसाइटी मोरङले सो जग्गा २०४४ सालमा खरिद गरेको थियो । विपद्को समयमा बाढी पीडितलाई व्यवस्थापन गर्ने उद्देश्यले खरिद गरिएको सो जग्गामा बाढी पीडितहरू बस्दै आएका थिए । २०४४ सालमा आएको बाढीबाट विस्थापितलाई राखिएको उक्त जग्गामा बसेका सबैले आफ्नो घर बनाएर जग्गा छोडे । रेडक्रस सोसाइटी उपशाखा गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले भन्नुभयो – २२ परिवार बाढी पीडित थिए । उनीहरूले २०५७ सालमा रेडक्रसको जग्गा छोडे । त्यसयता तेजनारायणले जग्गा भोग चलन गरेको लालबहादुर बताउनु हुन्छ । लालबहादुरका अनुसार २४ वर्षयता १९ कट्ठा जग्गाको आम्दानी रेडक्रस जिल्ला शाखामा जम्मा भएको छैन । 

गोविन्दपुर उपशाखाका सचिव  बैजनाथ झाका अनुसार उक्त जग्गा वार्षिक २५ हजार रुपियाँ ठेक्का बुझाउने सर्तमा ताजपुरियाले लिनु भएको हो ।  कार्यसमितिको तर्फबाट चासो राख्दा ताजपुरियाले हरेक वर्ष ठेक्का बुझाएको जवाफ दिनु भएको थियो । यता जग्गा भोग चलन गरिरहनु भएका  पूर्वअध्यक्ष तेजनारायण ताजपुरियाले आफूले अर्कै किसानलाई जग्गाको जोतभोग गरी खान र ठेक्का बुझाउन दिएको बताउनु भयो । तेजनारायणले भन्नुभयो –२०५७ सालमा बाढी पीडितहरू आफ्नो घर फर्केपछि जग्गाको संरक्षणमा चुनौती थपिएको थियो । माओवादी द्वन्द्व कालमा समेत जग्गाको संरक्षण गरेको उहाँले बताउनु भयो । उहाँले केही रकम बुझाएको दाबी गर्नुभयो । यद्यपि उहाँसँग ठेक्का बुझाएको प्रमाण छैन । 

वडा नम्बर ६ का वडाध्यक्ष कमलकुमार मोक्तानलाई भने रेडक्रसको जग्गा भएको र पूर्ववडाध्यक्षले कमाइ गरी खाएको जानकारी नै छैन । उहाँले भन्नुभयो –सुनेको छु । वास्तविकता बुझेको छैन ।