• १२ साउन २०८१, शनिबार

राससकर्मी विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

blog

तस्बिर : रासस

बैतडी, असार २६ गते । राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत हुनुभएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राससकर्मी विष्टलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गरेको हो । 

सिंहदरबारमा आज एक कार्यक्रमबिच मन्त्रालयका सचिव सुमनराज अर्यालले विष्टलाई खादा, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो । युवा सरोकारका विषयमा नेपाली छापा पत्रपत्रिका, रेडियो र अनलाइन समेतबाट समाचार सम्प्रेषण गरी युवा विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै विष्टलाई नगद  पुरस्कारसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवेदन आह्वान गरेको थियो । देशभरबाट प्राप्त आवेदनमध्येबाट मन्त्रालयले मूल्याङ्कन गरी पुरस्कारका लागि विष्टलाई छनोट गरेको थियो । पत्रकार महासङ्घ बैतडीका सहसचिवसमेत रहनुभएका विष्टले पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पेसाप्रति थप जिम्मेवार बन्न र पेसामै रहिरहन ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल हुनुहुन्छ । रासस