• १२ साउन २०८१, शनिबार

चलचित्र घरज्वाइँ : ‘मगर समुदाय संस्कृतिमा धनी छ’

blog

काठमाडौँ, असार २६ गते । नेपाली चलचित्र घर ज्वाइँको प्रिमियर सो सम्पन्न भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताउनुभयो । उहाँले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताउनुभयो ।

पूर्वका मगरहरू छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरू केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चलचित्रमा उतारिएको बताउनुभयो । उहाँले मगर समुदायको संस्कार र संस्कृतिका बारेमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अभिनेत्री मिरुना मगरले मगर समुदाय संस्कृतिमा कति धनी छ भन्नेकुरा चलचित्र खेलिसकेपछि थाहा पाएको बताउनुभयो । उहाँले मगर समुदायको आफूलाई पूर्वको मात्रै जानकारी भएपनि पश्चिमी मगर समुदायको संस्कृति देख्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र साढे पाँच वर्षदेखि तयारी रहेको र सोहीअनुसार बनाइएको बताउनुभयो । उहाँले आफूलाई संस्कृतिमाथि धेरै चाहना रहेको र सबैखाले संस्कृतिलाई बुझ्न आफू रुचि राख्ने बताउनुभयो ।

मगर समुदायमा वर्षौँदेखि प्रचलित घरज्वाईं संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । जनक घर्ती मगरले निर्माण गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।