• १२ साउन २०८१, शनिबार

वर्षाले जनजीवन प्रभावित, विद्यालय बन्द

blog

सुनसरीको दक्षिणी क्षेत्र बर्जु गाउँपालिका ६ चिमडीमा रहेको मजदुर आधारभूत विद्यालय डुबानमा । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार २६ गते । सुनसरीमा चार दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाले जिल्ला सदरमुकाम इनरुवासहित उत्तरमा रामधुनीका वडाहरु, पूर्वमा गढी, दुहवी र दक्षिणी क्षेत्र कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जुसहितका गाउँहरु डुबानमा परेको हाे । 

ग्रामीण सडकहरु डुबानमा परेकाले आवतजावतमा समस्या भएको छ भने कैयौं घरमा पानी पसेको छ । वर्षाको कारण बुधबारबाट संस्थागत विद्यालयहरु बन्द गरिएका छन् । निजी विद्यालयहरुले सडकबाटो डुबानमा परेकाले विद्यार्थीलाई आउन तथा बस पठाउन समस्या भएकाले बिदा दिएको छ भने केही सामुदायिक विद्यालयहरुले समेत बाढीलाई ध्यानमा राखेर विद्यालयहरु बन्द गरिएको सरस्वती माविका सूचना अधिकारी उमेश यादवले जानकारी दिनुभयो ।

गाउँका कच्ची सडक डुबानमा गरेको र क्षतिग्रस्त भएपछि सवारी आवागमन ठप्प भएको देवानगञ्जका विवेक मेहताले जानकारी दिनुभएको छ । वर्षाका कारणले जिल्लाका सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । लगातार चार दिनदेखिको अविरल वर्षाले इनरुवा नगर प्रवेश गर्ने इनरुवा कौवा खोच सडक पूर्ण डुबानमा परेको छ ।

डुबानमा परेको इनरुवा नगरपालिका–४, ९ र १० का उराँव टोल, खिखरी पट्टी, खत्वे टोल, मुसहरी टोलका सय घर परिवारका ५०० जना प्रभावित भएका छन् । अविरल वर्षाका कारणले भूमि सुधार कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइसहितको कार्यालय डुबानमा परेको छ । 

उता सुनसरी खोला, गडन खोला , सेहरा खोलामा बाढीको पानीले थप डुबानको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले वर्षा भइरहेको र नदी खोलामा पानीको बहाव र सतह बढेको भए पनि कोही कहीँकतै विस्थापित भएको वा उद्धार गर्नुपर्ने अवस्थाको नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विपत्तिको बेला प्रहरीलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा राखिएको र हाल त्यस्ताे जोखिम नरहेको बताउनुभयो ।