• १२ साउन २०८१, शनिबार

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

blog

भरतपुर,  असार २६ गते ।  चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु. एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उहाँले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो  । पालिकाले आगमी आवका लागि रु. तीन करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षौँदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताउनुभयो ।

इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ । रासस