• १२ साउन २०८१, शनिबार

४१ पुल बाढीमा बगे, १० करोडभन्दा बढीको क्षति

blog

फाइल तस्बिर

काठमाडौँ, असार २५ गते । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपदका घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिराेमा परेर ९० घाइते र पाँच जना बेपत्ता भएका छन् । बाढीपहिराका कारण तीन सय ८१ पशु चौपाया मरेका छन् । ९८ गोठमा क्षति भएको छ । 

पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । 

यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । रासस