• २० असोज २०८१, आइतबार

सङ्क्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

blog

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसालाई सँगै टुंग्याउनेगरी नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले पीडकले सजाय पाउने र पीडितले न्याय पाउनेगरी सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी रहेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लग्न सबै पक्ष क्रियाशील भई काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भई काम गरेमात्र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताउनुभयो । अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्क्रमणकालीन न्यायको टुङ्गो लगाउँदा पीडितमैत्री हुनुपर्छ, बालसैन्यको कुरा छ । यौनजन्य हिंसाको कुरामा भयो । आदि कुरामा पीडकले सजाय पाउनुपर्छ, पीडितले राहत, क्षतिपूर्ति, परिपूरण पाउनुपर्छ । न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ । अहिले मुख्य कुरा भनेको ऐन बन्नुपर्छ । ऐन नबनीकन न्याय दिन सकिँदैन । सङ्क्रमणकालीन न्याय टुङ्गोमा लग्न सरकार क्रियाशील हुनुपर्छ, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय हुनुपर्छ । सबैको संयुक्त सहयोग नभई टुङ्गोमा पुग्न सक्दैन । सबैको संयुक्त सहयोग चाहिन्छ ।’

सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरू समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो ।