• ७ पुस २०८१, आइतबार

विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग

blog

काठमाडौँ, असार २४  गते ।  प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले बाढीपहिराका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्ड अवरुद्ध भएको बताउनुभयो । मनसुनजन्य विपद्मा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद लक्ष्मी तिवारीले मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनुभयो । 

सांसद विद्या भट्टराईले लामाचौर क्षेत्रमा नाला व्यवस्थापन हुन नसक्दा बालकको मृत्यु भएको भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “पोखरा क्षेत्रमा पहिरोको पनि  जोखिममा छ । पहिराका कारण आवागमन रोकिएको छ”, उहाँले भन्नुभयो, “ठाउँठाउँमा सडक भासिएको छ, पोखराका १७ बस्ती डुबानको जोखिममा छन्, विपद् प्रभावितलाई राहत र क्षतिपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ ।”

यसैगरी अर्का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले पनि बाढीपहिराका कारण मानिसहरुको ज्यानै जोखिममा रहेको भन्दै घाइतेको निःशुल्क उपचार र पीडितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद किरणकुमार साहले मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताउनुभयो । “जलवायु परिवर्तनका कारण बाढीपहिरोजस्ता मनसुनजन्य विपत्ति बढिरहेको छ, यसबाट बच्न सरकारले प्रतिकार्य र पूर्वतयारीमा जोड दिन आवश्यक छ ।”

सांसद वासुदेव घिमिरेले पनि बाढीपहिराका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण–व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अनुरोध पनि गर्नुभयो । रासस