• ४ जेठ २०८१, शुक्रबार

शीर्षटोली सिटीको सानदार जित

blog

लिड्सविरुद्ध गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १८ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको सिटीले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई उसैको मैदानमा ४–० गोलले हरायो । सिटीको फराकिलो जितमा रोड्री, नाथन एके, गाब्रियल जेसस र फर्नान्डिन्होले गोल गर्नुभयो । 

एकपक्षीय खेलमा सिटीले १३औं मिनेटमा रोड्रीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा तीन गोल थपेको सिटीका लागि नाथन एकेले ५४औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ७८औं मिनेटमा गाब्रियल जेसस र इन्जुरी समयमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । 

जितसँगै सिटीले शीर्षस्थानमा एक अंकको अग्रता कायम राखेको छ । सिटीको ३४ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ८२ अंक छ । सिटीसँग पराजित लिड्स ३४ अंक सहित १७औं स्थानमा छ ।

शनिबार रातिनै भएको खेलमा दोस्रो स्थानको लिभरपुलले न्युक्यासल युनाइटेडलाई १–० गोलले हरायो । लिभरपुलको जितमा नावी केइटाले १९औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । हारसँगै ४३ अंक बनाएको न्युक्यासल १०औँ स्थानमा छ । एजेन्सी