• २० असोज २०८१, आइतबार

वैकल्पिक सडक निर्माण कार्य तीव्र

blog

निर्माणको काम तीव्र पारिएको बल्दे अम्कोट सडकको वैकल्पिक मार्ग । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार २४ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माणको काम तीव्र पारिएको छ ।

बर्खाको समय साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक अवरुद्ध हुने सम्भावना देखिएपछि सडक डिभिजन कार्यालय अछामले यसको विकल्पको रूपमा कन्र्सन अम्कोट हुँदै द्वारीसम्मको वैकल्पिक मार्ग निर्माणको काम तीव्र पारिएको हो ।

साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक बर्खाको समय पहिरोको कारण अवरुद्ध हुने गरेकोले यसको विकल्पको रूपमा कन्र्सन अम्कोट हुँदै द्वारीसम्मको एक किलोमिटर सात सय मिटर सडकमा ग्याबिन नाला तथा ग्राभेल गर्ने काम स्वाँर पिके जेबीलाई झन्डै एक करोड नब्बे लाखमा जिम्मा दिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

वैकल्पिक सडक निर्माणको ठेक्का स्वाँर पिके जेबिले लिए पनि निर्माण कार्य भने अहिले स्वाँर कन्स्ट्रक्सन प्रा.लि अछामले गर्दै आएको छ । सो कम्पनीले अहिले वैकल्पिक मार्गको बाटो चौडाइ गर्ने ग्याबिन राख्ने नाला तथा सडक ग्राभेल गर्ने काम तीव्र रूपमा गरिरहेको छ ।

सडकको वालमा ग्याबिन राख्ने काम सम्पन्न भए पनि नाला र ग्राभेल गर्ने काम निर्माणको क्रममा रहेको   प्राविधिक गुप्तराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन यता पानी परेको छ । त्यो पानी अहिले सम्म रोकिएको छैन । यसका कारण सडकमा काम गर्न निकै समस्या भएपछि अहिले काम रोकिएको छ ।”

केही दिनमा पानी रोकिएपछि साउनको अन्तिममा यो बल्दे अम्कोट सडकको वैकल्पिक मार्गको निर्माण कार्य पूरा हुने खड्काले बताउनुभयो ।गत वर्षको जेठको अन्तिम देखि असार , साउन र भदौसम्म बल्दे अम्कोट सडक पहिरोका कारण पटक पटक अवरुद्ध हुँदै हुने गरेको थियो । यसरी सडक अवरुद्ध हुँदा यहाँका स्थानीयलाई मार्तडी कोल्टी सम्मको यात्रा गर्दा निकै सास्ती खेप्नुपरेको हो ।

यती बेला यहाँका स्थानीयले त्यो सास्ती नखेप्नु पर्ने गरी बल्दे अम्कोट सडकमाथिको पानीका मुहान व्यवस्थापन तथा वैकल्पिक मार्ग निर्माण कार्यलाई तीव्र पारिएको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गत वर्ष जेठको अन्तिम तिर बल्दे अम्कोट सडक अवरुद्ध हुँदै आएको थियो । अहिले बल्दे अम्कोट सडकमाथिको मुहानलाई व्यवस्थापन गरेसँगै यती बेला असारको अन्तिम सम्म यो सडकमा सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।”

बर्खाको पानीले पहिरो लागेपछि यसको विकल्पको लागि निर्माण गरिएको बल्दे कन्सर्न अम्कोट हुँदै द्वारीसम्मको वैकल्पिक मार्गलाई सञ्चालन गर्ने गरी काम तीव्र रूपमा भइरहेको गिरीले बताउनुभयो ।