• ९ वैशाख २०८२, मङ्गलबार

माथेमालाई सम्मान गरिने

blog

काठमाडौँ , वैशाख १८ गते । जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन’ सम्मान प्रदान गर्ने भएको छ । 

नेपालस्थित जापानी दूतावासले शनिबार दिएको जानकारीअनुसार सन् २०२२ को स्प्रिङ इम्पेरियल डेकोरेसनअन्तर्गत माथेमालाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउन भूमिका निर्वाह गरेबापत माथेमालाई पुरस्कार प्रदान गर्न लागिएको दूतावासले जनाएको छ । 

माथेमाले सन् १९९६ देखि २००३ सम्म जापानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपाल र जापानबीच सांस्कृतिक तथा शैक्षिक अनुभव आदानप्रदानको क्षेत्रमा पनि माथेमाको भूमिका उच्च स्तरको रहेको जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्मानका लागि छनोट गरेकोमा माथेमाले जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको हुँ । त्यसको मूूल्याङ्कन भएको मैले महसुुस गरेको छु ।”