• २० असोज २०८१, आइतबार

रातभर राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार

blog

मल्लाहको उद्धार गरेपछि उनीहरुलाई लाइफ जाकेट वितरण गर्दै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २३ गते। बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार उद्धार भएको छ। 

बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो। 

रातभर फसेका राप्ती सोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको बताउनुभयो। 

उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली ४३ जना प्रहरीसहित त्यहाँ पुगेको थियो। 

राप्ती नदीबाट सर्वसाधारणलाई डुङ्गामा राखेर वारिपारि गराउँदै आएका मल्लाहको उद्धारपछि तीन जनालाई लाइफ ज्याकेट वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो।