• १२ साउन २०८१, शनिबार

पहिरोको जोखिममा परेका १९ परिवारलाई स्थानान्तरण

blog

मङ्गलसेन–रामारोशन सडक खण्डमा रूढ ढलेर अवरुद्ध भएको सडक । तस्बिर : शिवराज ढुङ्गाना

शिवराज ढुंगाना
मंगलसेन, असार २३ गते । 
लगातारको वर्षाका कारण जिल्लाका चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिकाका बस्ती जोखिममा परेपछि १९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

घर माथिबाट पहिरोको उच्च जोखिम भएपछि चौरपाटी गाउँपालिका–६ दुनीका नौ परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ । दुनीको सेलपाखा भन्ने टोलको माथिबाट जमिन भासिएपछि जोखिममा रहेका नौ परिवारलाई स्थानीय स्वास्थ्य चौकीको भवन राखिएको वडा अध्यक्ष डबल खड्काले जानकारी दिनुभयो ।

यस्तै, सदरमुकाम मङ्गलसेन नगरपालिका–८ सुतुडाका ९ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । घर माथिबाट पहिरो आउने जोखिम भएपछि आफन्तको घरमा स्थानान्तरण गरिएको हो । सडक माथिबाट पहिरो आएर घर पुरिने अवस्था देखिएपछि नौ परिवारलाई वरपरको आफन्तका घरमा राखिएको वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

यसैगरी, वर्षाका कारण कमलबजार नगरपालिका–६ विरपथमा एक घर भत्किएकाले परिवारलाई अन्यत्र सार्ने काम भइरहेको बताइएको छ ।

स्वास्थ्य चौकीको भवनमा बसिरहेका परिवारको थप अवस्था बुझ्नका लागि एक टोली पठाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिव प्रसाद लम्सालले जानकारी दिनुभयो । पानी रोकिएपछि सुतुडाको पहिरोको व्यवस्थापनमा लाग्ने प्रजिअ लम्सालको भनाइ छ ।

अछामका ग्रामीण सडक वर्षाका कारण बन्द भएका छन् । झरीका कारण पहिरो, हिलो र ढुङ्गामुढा खसेका कारण ग्रामीण सडक अवरुद्ध भएका हुन् । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले सबैलाई आग्रह समेत गरेको छ ।