• १२ साउन २०८१, शनिबार

कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या

blog

कक्षामा पसेको पानी निकाल्दै विद्यार्थीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २३ गते ।
सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण विद्यालयका चार वटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो ।

उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुङ्गाको गाह्रो भएका कक्षाकोठा भएका कारण भवनको पछाडिपट्टिको भागबाट पानीको भल कक्षा कोठामा पसेपछि पठनपाठनमा समस्या भएको बताउनुभयो ।

विद्यालय सञ्चालन भएलगत्तै विद्यार्थीहरु र शिक्षक मिलेर कोठामा जमेको पानी फाल्ने कार्य भएको र त्यसपछि विद्यार्थीहरुलाई विद्यालयको मञ्चमा राखेर पढाइ सुचारु गरिएको उहाँले बताउनुभयो ।

प्रधानाध्यापक रोकायाले यो समस्या वर्षेनी भोग्नुपरिरहेका कारण नयाँ भवन निर्माण गर्नुपर्ने वा कक्षाको भुइँ सिलिङका लागि धेरै निकायसँग अनुरोध गर्दा पनि हालसम्म सहयोगी निकाय नपाएको गुनासो सुनाउनुभयो ।

यसबाट ८० जना विद्यार्थी प्रत्यक्ष समस्यामा परेका छन् । शिक्षिका कल्पना रावतले बर्खा लाग्ने वित्तिक्कै यो समस्या बारम्बार भोग्नुपरिरहेको बताउनुभयो ।

कक्षामा पानीको ठुलो भल पसेपछि पठनपाठनमा नै बन्द गरेर विद्यार्थीहरुलाई घर पठाउनुपर्ने अवस्था विगतदेखि रहँदै आएको छ । यो जिल्लाका माविमध्ये सबैभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने विद्यालय हो ।