• १३ साउन २०८१, आइतबार

मुस्ताङ प्रवेश गर्ने हवाइ र सडकको सबै नाका बन्द

blog

पहिरोले अवरुद्ध बेनी जोमसोम सडकखण्ड खुलाउने प्रयास गर्दै कालिगण्डकी करिडोर सडक आयोजनाको मेसिन । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, असार २३ गते ।
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडकको सोझो यातायात सेवा रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानै देखि भने पुरै बन्द भएको छ ।

रघुगंगा गाउँपालिका–३ राखुका युवा झलक शर्माका अनुसार बेनी–जोमसोम सडक यात्रा जोखिमपूर्ण रहेको छ । धेरै ठाउँहरुमा पहिरो झर्ने हुँदा यात्रा गर्नु निकै कष्टकर र जोखिम पनि भएकाले यो समय अत्यावश्यक बाहेक यात्रा नगरेकै जाती हुने उहाँको भनाइ छ ।

वर्षा बढेसँगै असार १५ देखि जोमसोम–पोखरा हवाइ उडान पनि बन्द भएकाले जटिल प्रकारको बिरामी भएको खण्डमा उपचारका लागि लैजान समेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘मुस्ताङ जिल्ला भित्रका सबै सडकहरु १२ः३० बजेसम्म सञ्चालनमा आएको भए पनि म्याग्दीतर्फ सडक खुलाउन नसकिएको हुँदा हामीलाई समस्या भएको छ ।’’

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयका अनुसार जोमसोम–बेनी सडकको मार्फामा खोलामा बाढी आउँदा पटकपटक अबरुद्ध हुने गरेको छ । रातीदेखि बन्द भएको मार्फाको राजखोलामा दिउँसो खुलेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडक खण्डको म्याग्दी तर्फ रघुगंगा गाउँपालिका–२ तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ । त्यस्तै, भुरुङतातोपानीमा अवरुद्ध सडक अहिले खुलेको भए पनि बैसरीमा अवरोध अहिल्यै हट्ने नदेखिएकाले बेनी–जोमसोम सिधा यातायात हुन सक्ने अवस्था भने छैन ।

त्यसैगरी पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडकखण्डको बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिका–४ बाङ्गेभिरमा पनि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार वर्षाले गर्दा अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवनमा समस्या भएको छ ।