• १५ असार २०८१, शनिबार

सक्रिय भयो पूर्वमनसुन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते । लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भन्नुभयो, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” 

उहाँका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो । भारतको पश्चिम बङ्गालदेखि पूर्वी भेग हुँदै उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण हुँदै पूर्वतर्फ सोझिनेक्रममा मौसम प्रणालीले यात्रा गरिरहेको अनुमान मौसमविद्हरूले गरेका छन् । जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । 

अहिलेको मौसम प्रणालीअनुसार नेपालको प्रदेश १, बागमती, गण्डकी, कर्णाली र तराईका अधिकांश भू–भागमा राम्रो बदली रहेको छ । शुक्रबार अपराह्नदेखि शनिबार बिहानसम्मको अवस्था विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । 

महाशाखाले सार्वजनिक गरेको साताव्यापी कृषि मौसम पूर्वानुमान विवरणअनुसार भने आउँदो साताको अन्त्यसम्मै देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको क्रम रहनेछ । साताभर देशव्यापी तापक्रमको अवस्थामा भने खासै परिवर्तन नआउने महाशाखाले उल्लेख गरेको छ । यो वर्षाले किसान वर्गलाई ठूलो राहत मिलेको छ । यतिबेला पहाडदेखि तराईसम्म मुख्य खेतीका रूपमा मकै खेती गरिन्छ । 

साथै, बर्खेतरकारीको उच्च सिजन हो । लगाएको बेर्ना वर्षा नहुँदा सुक्न थालेका थिए । वर्षा भएपछि खेतबारीमा लगाएका बीउबिजन उम्रन र बढ्न सहयोग पुग्ने कृषि मौसमविद् रामेश्वर रिमालले बताउनुभयो । केही दिनको वर्षात्को निरन्तरताले नेपालको कृषि उत्पादनलाई ठूलो टेवा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रि मनसुन अघिल्लोजस्तो यो वर्ष पूरै निष्क्रिय भने रहेन । तर, औसतजति वर्षा प्रि मनसुनमा हुनुपर्ने थियो, त्यो अहिलेसम्म हुन सकेको थिएन । अहिले सक्रिय भएको प्रि मनसुनी प्रणालीले त्यो कमीमा राहत थपेको मौसमविद् सुनाउनुहुन्छ ।साथै देशका विभिन्न वनक्षेत्रमा लागेको डढेलोको क्षति घटाउन यो वर्षाले सघाएको छ । देशभर फैलिएको प्रदूषित धुलो, धुवाँ र तुवाँलोको मात्रा घटाएर स्वच्छ वातावरण बनाउन पनि सहायक बनेको छ ।