• १९ असोज २०८१, शनिबार

घर भत्कियो, पठनपाठन बन्द

blog

राजु लामिछाने/राजन रावत

मुसीकोट, हुम्ला, असार २३ गते ।  विगत तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण एउटा घर भत्किएको छ भने अरू घर जोखिममा परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले दिएको जानकारी अनुसार चङ्खेली गाउँपालिका–४ को मौरीवाडा गाउँका बिजुली शाही सिंहको तीनकोठे एकतले भवन भत्किएको छ । यसबाट मानवीय तथा चौपायाको क्षति नभए पनि सिंह घरविहीन हुनुभएको छ । उहाँलाई छिमेकीको घरमा सारिएको छ । 

त्यसै गरी सिमकोट गाउँपालिका–१ को कुम्लिक जिउला आधारभूत स्वास्थ्य केन्द्रको पर्खाल पनि भत्किएको छ । यस्तै चङ्खेली गाउँपालिका–२ को दार्म जिउलामा लगाएको बाली पनि वर्षाका कारण पहिरो गएकोले क्षति पुगेको स्थानीय तेजबहादुर शाहीले बताउनुभयो । 

त्यसै गरी जिल्ला सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षाकोठामा बर्खाको भेल पसेपछि पढाइ अवरुद्ध भएको छ । उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुङ्गाको गारो भएका कक्षाकोठा हुँदा भवनको 

पछाडिपट्टिको भागबाट चार वटा कक्षाकोठामा भेल पसेपछि शुव्रmबारबाट पठनपाठन रोकिएको बताउनुभयो । 

मुसीकोट समाचारदाताका अनुसार अविरल वर्षाका कारण रुकुमपश्चिमका दुई बस्ती पहिरोको जोखिममा छन् । आठबिसकोट नगरपालिका–१४ को गाउँबारी र मुसीकोट नगरपालिका–११ को रिठाबोटका बस्तीसँगै १० घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार अविरल वर्षाका कारण आठबिसकोटका पाँच र मुसीकोटका पाँच घर नै उच्च जोखिममा छन् । मुसीकोटको रिठाबोटका कर्णबहादुर खत्री, वीरबहादुर खत्री, दलबहादुर खत्री, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा छन् । तीमध्ये दुई घरपरिवारलाई स्थानीयको घरमा सारिएको छ । जोखिममा रहेका बस्तीका बासिन्दालाई सजक रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ । 

त्यसै गरी आठबिसकोटको गाउँबारीका बालकृष्ण मल्ल, परु मल्ल, विन्दु मल्ल, भैराम मल्ल र भद्रु मल्ललगायतका घर पनि पहिरोको उच्च जोखिममा छ । वडाध्यक्ष हुकुमबहादुर पुनका अनुसार गाउँमाथिको सडकबाट आएको पहिरोले पूरै गाउँ जोखिममा परेको छ । 

पहिरोकै कारण आठबिसकोट नगरपालिका–१४, माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाइएको अस्थायी सिकाइ केन्द्र भत्किएको छ । विद्यालयका प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क, बेन्च र निर्माणाधीन विद्यालय भवनका लागि जम्मा गरिएका निर्माण सामग्रीमा क्षति पुगेको छ । 

सिकाइ केन्द्र नै भत्किएपछि बालबालिकाको पठनपाठनमा समस्या भएको छ । स्थानीयको घरको कोठा भाडामा लिएर भए पनि पठनपाठन सुचारु गरिने प्रधानाध्यापक मल्लले जनाउनुभयो । वर्षासँगैको पहिरोका कारण जिल्ला अन्य स्थानका बस्तीसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसै गरी चौरजहारीस्थित जहारीखोलामा आएको बाढीले किसानको धानखेतीमा क्षति पु¥याएको छ । वडा नं. ८ का वडाध्यक्ष शशिराम विकका अनुसार वडा नं. ३ र ८ मा पर्ने सेरामा जहारीखोलामा दर्जनौँ किसानको धान खेती कटानमा परेको छ भने सिँचाइ कुलो पनि कटानबाट क्षति भएको छ ।