• ८ मंसिर २०८१, शनिबार

छापा माध्यमका सकस

blog

नेपालको पहिलो पत्रिका ‘गोरखापत्र’ १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिकका रूपमा प्रकाशित भएको थियो । १९५५ सालमै साहित्यिक पत्रिका सुधासागर आएको भए पनि समाचारमूलक पत्रिका गोरखापत्र नै नेपालको पहिलो पत्रिका हो, जुन आज पनि दैनिक पत्रिकाका रूपमा प्रकाशित छ । राणाशासनको अन्त्यसँगै २००७ सालपछि बिस्तारै अन्य पत्रिका प्रकाशित हुन थाले । २००७ साल फागुन ४ गतेदेखि जागरण साप्ताहिक प्रकाशित भयो । २००७ साल फागुन ८ गतेदेखि आवाज दैनिक प्रकाशित भयो । यसलाई नै नेपालको पहिलो राष्ट्रिय दैनिकका रूपमा चिनिन्छ । २०११ साल भदौ २४ गतेदेखि समाज दैनिक र २०१३ साल कात्तिक २८ गतेदेखि हालखबर दैनिक प्रकाशित भयो । यी त्यतिबेलाका चर्चित पत्रिका थिए । यसरी पत्रपत्रिका प्रकाशित हुन सक्नुको प्रमुख कारण प्रजातन्त्रको स्थापनासँगै प्रेस स्वतन्त्रताको वातावरण हुनु नै थियो ।

नेपालमा आजका दिनसम्म आउँदा झन्डै एक हजारको हाराहारीमा नियमित रूपमा पत्रपत्रिका प्रकाशित भइरहेका छन् । प्रेस काउन्सिल नेपाल अन्तर्गतको वितरण सम्परीक्षण समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पत्रपत्रिका वर्गीकरणको नतिजामा ८६८ वटा पत्रपत्रिका समावेश छन् । यस्ता पत्रपत्रिका दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, साहित्यिक, भाषाभाषीका रहेका छन् । त्यसमा साप्ताहिक मात्र ४१३ वटा छन् । आव २०७८/७९ र २०७९/८० को पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण) का लागि आवेदन फाराम भर्ने पत्रपत्रिकाको सङ्ख्या क्रमशः ९०० र ८९५ वटा रहेको छ । यसमा पनि दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक पत्रपत्रिका छन् । 

प्रेस काउन्सिल नेपालको पत्रपत्रिका व्यवस्थापन प्रणालीमा यिनै प्रकारका एक हजार १९५ वटा पत्रपत्रिका दिनहुँ अपलोड भइरहेका हुन्छन् । यो भने नियमित, अनियमित, नयाँ, पुराना पत्रपत्रिकाको सङ्ख्या हो । यी पत्रपत्रिका विभिन्न भाषामा प्रकाशित छन् । यसबाट विभिन्न भाषा, संस्कृति र क्षेत्रको प्रतिनिधित्व भएको देखिन्छ । यो राष्ट्रको गौरव हो । यसरी हेर्दा नेपालमा अझै पनि छापा माध्यमको प्रकाशन नघटेको देखिन्छ । कोराना जस्तो महामारीका कारण अन्य मिडियालाई जस्तै छापालाई पनि निरन्तरता दिन धौधौ परे पनि यसप्रतिको लगावमा भने कमी आएको छैन । 

छापा माध्यमको महत्व 

माथिको तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि छापा माध्यमको आकर्षण घटेको छैन । मानिसहरू सुन्न, हेर्नका साथै पढ्न पनि रुचाउँछन् । पढ्दा बढी आनन्द पनि आउँछ । हो, डिजिटल माध्यम र सूचना प्रविधिमा आएको तीव्र विकासले छापा माध्यमलाई प्रभाव नपारेको होइन, विज्ञापन बजारमा देखिएका अनेक समस्याले यी माध्यमलाई अगाडि बढ्नमा समस्या नआएको होइन तर पनि यी माध्यमले हिजो प्रजातन्त्र, लोकतन्त्र ल्याउन पु¥याएको योगदान र आज पनि सकारात्मक समाज निर्माणका लागि आफ्नै गतिमा निर्वाह गरिरहेको भूमिकालाई कसैले बेवास्ता गर्न मिल्दैन, सक्दैन । किनकि आज पनि जिम्मेवार छापा माध्यमले सही सूचना प्रवाह गरेर समाजमा योगदान दिइरहेको पाइन्छ । यो माध्यम पछिल्ला कतिपय माध्यम जस्तो उत्ताउलो रूपमा प्रस्तुत भएको देखिँदैन ।

यस्तै यी माध्यम आज पनि राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, पर्यावरणीय, क्षेत्रीय, जातीय, लैङ्गिक, पहिचान, आदि क्षेत्रको चेतना अभिवृद्धिमा सक्रिय नै देखिन्छन् । छापा माध्यमका अधिकांश प्रकाशक र सम्पादकका लामो समयदेखिको अनुभव, त्याग, साधनाका कारण यी माध्यमबाट जिम्मेवार पत्रकारिता भएको देखिन्छ । त्यसैको फलस्वरूप यी माध्यमले राज्य, राज्यका संयन्त्र र सरकारका गतिविधिमा हरसमय निगरानी गरिरहेको देखिन्छ । यसरी ‘वाचडग’ का रूपमा कलम चलाएर यी पक्षलाई जवाफदेही बनाउन कोसिस गरेको देखिन्छ । माथि भनिए झैँ छापा माध्यम प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका आधार हुन्, जसले मुलुकमा सङ्कट पर्दा वा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रप्रति कसैले औँला ठड्याउँदा एकीकृत कलम चलाएर पश्चगामी सोच राख्नेहरूलाई खबरदारी गर्ने गरेका छन् ।   

अवस्था र समस्या 

नेपाली पत्रकारिताको इतिहास बोकेका छापा माध्यमको अवस्था आज चिन्ता गर्नलायक छ । हुन त यस्तै समस्या विद्युतीय, अनलाइन माध्यमले पनि भोग्नु परेको होला तर पनि छापा माध्यम, यसमा पनि स्वरोजगारमूलक पत्रपत्रिकाले विभिन्न चुनौतीसँग जुध्नु परिरहेको छ । सङ्क्षिप्तमा छापा माध्यमले वर्तमानमा भोग्नु परेका चुनौती र यसको सङ्कटका कारणलाई यसरी उल्लेख गर्न सकिन्छ । 

डिजिटल माध्यमको प्रभाव : यो माध्यमको उदय र विकासको मारमा छापा माध्यम परेका छन् । यसबाट छापा माध्यमको बजार, विज्ञापनमा नराम्रो असर परेको छ । यो असरले आर्थिक अवस्था प्रभावित बनाएको छ । छापा माध्यम अनलाइन संस्करणमा जानैपर्ने स्थिति छ । अनलाइन संस्करणमा गए पनि त्यसबाट समेत आय आर्जन गर्ने उपाय निकाल्न नसक्दा माध्यम चलाउनु न छोड्नुको अवस्था आएको छ । सारमा भन्दा आर्थिक सङ्कट परेको छ । 

प्रविधिमैत्री बन्न नसक्दा समस्या : ४० औँ वर्षदेखि छापा माध्यममा संलग्न ज्येष्ठ पत्रकारलाई आजको डिजिटल दुनियाँमा घुलमिल हुन गाह्रो भएको छ । अर्थात् प्रविधिमैत्री हुन नसक्दा मानसिक तनाव उत्पन्न हुने गरेको छ । यो मनोविज्ञानलाई राज्य, सरकार र सरोकारवालाले बुझेको देखिँदैन । यसको समाधानको जुक्ति दिनुभन्दा कानुन, नियम ल्याएर झन् कस्न मात्रै खोजेको देखिन्छ । सामाजिक सञ्जालको हस्तक्षेप : छापा माध्यममाथि विभिन्न सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको हस्तक्षेप परेको देखिन्छ । मानिसहरू छापा माध्यमले दुःख गरेर तयार पारेका सामग्रीलाई भन्दा सामाजिक सञ्जालका मनगढन्ते कुरातर्फ लालायित भएको देखिन्छ । छापा माध्यमको सामग्रीभन्दा यस्ता सामग्रीमा विश्वास गर्ने गरेको पाइन्छ । पढ्नेले पनि सामाजिक सञ्जालका लिङ्कमै पढेपछि पत्रपत्रिका किन्ने बानी हराउँदै गएको छ । यसले गर्दा पनि पाठकको सङ्ख्या घट्दै गएको छ । 

सामाचार कपी पेस्ट : अधिकांश अनलाइन माध्यमले छापा माध्यममा मेहनत गरेर प्रकाशित सामग्री कपी पेस्ट गर्ने गरेको देखिन्छ । यसको प्रत्यक्ष मारमा यिनै सोझा, इमानदार छापा माध्यम पर्ने गरेका छन् । अमैत्री कानुन, नियम : राज्यका कानुन, नियम, मिडियामैत्री हुनुपर्नेमा झन् घुमाइ घुमाइ बाँध्ने, अप्ठ्यारो बनाउने खालका छन् । विज्ञापन तथा सूचनालाई भिक्षादानका रूपमा हेर्ने गरिएको छ । यसलाई व्यवसाय भनेर बुझ्न सकिएको छैनन् । 

कसरी होला समाधान ? 

छापा माध्यमका कैयौँ समस्या छन् । त्यसैले यी समस्या समाधानका उपाय खोज्न एउटै डुङ्गामा रहेका सबैको एकमत भई निम्न विषयमा ध्यान दिएर अगाडि बढ्नु पर्छ । 

समानुपातिक विज्ञापन प्रणाली लागु गराउन जोड दिनु पर्छ । जनता, राष्ट्र, राष्ट्रियताका पक्षमा संवेदनशील पत्रपत्रिकालाई जोगाउन र जगाउनु पर्छ । यसका लागि लोककल्याणकारी विज्ञापनको रकम बढाउन सरकार र सरोकारवालालाई दबाब दिनु पर्छ । सबै पत्रपत्रिकाले डिजिटल प्लेटफर्मको प्रयोग गर्नु पर्छ । आआफ्ना माध्यमलाई डिजिटल प्लेटफर्ममा लैजाने रणनीति बनाउनु पर्छ । सबै पत्रिकालाई पनि अनलाइन संस्करणमा लगी अनलाइनमा पढेर पाठक बढाउन सक्ने वातावरण निर्माण गर्नु पर्छ । यसो गर्दा विज्ञापन पाउन सम्भव र सजिलो हुन्छ ।

स्थानीय स्तरका पत्रपत्रिकाले केन्द्रका वा अन्य क्षेत्रका विषयवस्तुलाई प्राथमिकता दिएको देखिन्छ । आफ्नै गाउँठाउँका विषयलाई बेवास्ता गरेको पाइन्छ । यसो हुँदा पत्रिकाले बजार, पाठक पाइरहेको हुँदैन । अतः यी पत्रिकालाई बचाउने हो भने स्थानीय पत्रकारिता गर्नु पर्छ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिने वातावरण बनाउन मुलुकका सबै सरकारलाई घच्घच्याउनु पर्छ ।     

आआफ्ना माध्यममा मानव अभिरुचिका, जनजीविकासँग जोडिएका, विश्वसनीय र गुणस्तरीय सामग्री राख्नु पर्छ । एक मिडिया अर्काेमा गाभ्ने उपाय खोज्नु पर्छ । सकेसम्म पत्रपत्रिका ‘मर्जर’ नीति पालना गराउनु पर्छ । सरकारलाई मिडियामैत्री कानुन बनाउन दबाब दिनु पर्छ । छापालगायत माध्यमको गतिमा अवरोध खडा गर्ने विद्यमान ऐन, कानुन, नियम संशोधन गर्नु पर्छ । ज्येष्ठसहित भर्खर यस क्षेत्रमा होमिएका पत्रकारका लागि राज्य नयाँ प्रविधि सुहाउँदो प्रशिक्षण, तालिमको व्यवस्था गर्नु पर्छ । 

स्वच्छ, स्वस्थ, मर्यादित, सन्तुलित पत्रकारिता सभ्य समाजको पहिचान हो । यस्तो पत्रकारिता मात्र टिक्छ र विश्वसनीयता कायम हुन्छ । आज पत्रकारको समाज दिने शैली मात्रै होइन, व्यवहार प्रदर्शनले पनि समाजमा पत्रकारप्रति नकारात्मक जनमत तयार हुँदै गएको छ । यसो हुन नदिन पत्रकार आचारसंहिता र सञ्चार निर्देशिका पालना गर्नु पर्छ ।

पत्रकारिता मेवा होइन, सेवा हो । यो स्वयंसेवा जस्तै पेसा हो । यसको मात्र कमाइले टिक्न गाह्रो हुन्छ । त्यसैले अब आम्दानीका नयाँ मोडल खोज्न जरुरी छ । विज्ञापन सङ्कलनका वैज्ञानिक उपाय निकाल्नु पर्छ । पुस्तक आदि प्रकाशन गरेर त्यहाँबाट आउने आम्दानीबाट पत्रपत्रिका निकाल्न सकिन्छ । ग्राहक सदस्यता बढाउन सकिन्छ । डिजिटल प्रविधिमा जानैपर्ने हुँदा छापा माध्यमको एप्स बनाएर अनलाइन शुल्क लिनु पर्छ ।

समग्रमा प्लेटफर्महरू फेरिँदै आए पनि छापा माध्यमको महत्व, आकर्षण मरेको छैन । रेडियो, टेलिभिजन, अनलाइन माध्यम आएर छापा माध्यमको अवस्था खस्केको होइन । सबै माध्यमको आआफ्नै महत्व र विशेषता छ, हुन्छ । जस्तो कि नातिनातिना जन्मदैमा हजुरबा, हजुरआमाको महत्व सकिँदैन । त्यसरी नै आकर्षक सामग्रीसहित छापा माध्यमलाई प्रस्तुत गर्न र विश्वसनीयता कायम गर्न नसक्दा यी माध्यमको अवस्था शिथिल बन्दै गएको हो । अतः यी र यस्ता कुरामा ध्यान दिएर अगाडि बढ्ने हो भने आगामी दिनमा अवश्य पनि छापा माध्यमको सङ्कट मोचन हुने छ ।