• २४ असार २०८१, सोमबार

एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

blog

एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), असार २१ गते ।
पाल्पाको रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, बाट ४ जीपीए ल्याउन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले सम्मान गरेको हो ।

जिल्ला मै उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुन सफल भएको भन्दै कुँवरलाई नगरपालिकाले नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा सम्मान गरेको हो । कुँवरलाई रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगद १० हजार, सम्मान पत्र सहित दोसला ओढाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै नगर प्रमुख रमणबहादुर थापाले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । सोही अवसरमा नगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल दरैठाँटी माध्यमिक विद्यालयलाई सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई ढाका टोपी ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सभाको अवसरमा नगरपालिकामा करारमा कार्यरत रही हाल स्वऐच्छिक अवकाश लिनुभएका कार्मचारी शिवा देवी थापालाई सम्मान गरेको छ । थापालाई दोसला र सम्मान पत्र सहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९४ हजार प्रदान गरेको हो । कर्मचारी कल्याणकारी कोष मार्फत नगरपालिकाले पहिलो पटक रकम प्रदान गरेको हो ।

१५ औं अधिवेशनको दोस्रो बैठक बाट नगरपालिकाको संशोधनसहित बजेट ७४ करोड ११ लाख चार हजार  रुपियाँ बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नु भएको संशोधनसहितको आर्थिक विनियोजन विद्येयक र विधेयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु भएको नगरसभाको कार्यसञ्चालन कार्यविधि विद्ययेक सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभाको १५ औं अधिवेशनबाट चार वटा ऐन पारित भएको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।