• २४ असार २०८१, सोमबार

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँः मन्त्री अर्याल

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रालयले विदेश जाने श्रमिकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिट्टै कार्यविधि बनाउने जानकारी दिनुभयो । उहाँले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपियाँ म्यान पावर व्यवसायीहरुले उठाइरहेको तथ्याङ्क आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताउनुभयो । उहाँले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालबाट विदेशिने तमाम नागरिकहरुको बारेमा हामीले सुक्ष्म तरिकाले अध्ययन गरेका छौँ । मेरो करिव १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ । मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपियाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरुले उठाइरहेको नेपाली नागरिकहरुसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्याङ्कमा पनि हामीले काम गरिरहेका छौँ ।,’’ मन्त्री अर्यालले भन्नुभयो, ‘‘यो भनेको सबैले बुझेकै कुरा हो, नेपाल सरकारले फ्रि टिकट, फ्रि भिसा वा १० हजार रुपियाँ सेवा शुल्क लिएर विदेश पठाउन पाउने जुन निर्णय गर्‍यो, त्यो निर्णय गर्दा कति दूरगामी अध्ययन गरेर निर्णय गरियो, त्यसको बहस गर्न म चाहन्न । जुन निर्णयले गर्दा व्यवसायीहरुलाई अझ रकमहरु असुल्ने, बिचमा विचौलियाले रकम असुल्ने तर नागरिकहरु विदेश जाँदै गर्दा १० हजार रुपियाँको मात्रै उहाँहरुलाई रिसिभ दिने र दुःख पाएर फर्किनुपर्ने अवस्था थियो ।’’

मन्त्री अर्यालले श्रमिकहरुलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारीश्रमीकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताउनुभयो ।