• ७ मंसिर २०८१, शुक्रबार

छत्रकोटले निःशुल्क पशु चिकित्सा पढाउने

blog

रमेश विश्वकर्मा
गुल्मी, असार २१ गते ।
गुल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सा विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पाण्डेयका अनुसार देशभर पशु चिकित्सकको माग बढेको छ । विद्यार्थीमा यस विषयप्रति आकर्षण कम रहेता पनि इच्छा भएका विद्यार्थीले आर्थिक अभावका कारण पढ्न नपाएको भन्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

पालिकामा पशु चिकित्सक अधिकृत पदमा विज्ञापन खुलाउदा न्यूनतम आवेदन परेका पनि उत्तीर्ण हुन नसक्ने समस्या हुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी पशु चिकित्सक अध्ययन गर्ने विद्यार्थीलाई पूर्णरुपमा छात्रवृत्ति दिने कार्यपालिकाबाट निर्णय गरी बजेटको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, स्नातक तहमा पशु चिकित्सक अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पूर्णरुपमा छात्रवृत्ति उपलब्ध गराउने पनि नीति गाउँपालिकाले लिएको छ । यस गाउँपालिकाको छात्रवृत्तिबाट अध्ययन गर्ने विद्यार्थीले अध्ययनपछि पालिकामा दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने अध्यक्ष पाण्डेयले बताउनुभयो ।