• २४ असार २०८१, सोमबार

समाज बुझ्न कानुन

blog

कानुन सबै मानिसले जान्नु पर्छ । कानुन नपढे पनि जान्नु पर्छ । सरकार, संसद्, कर्मचारी, उद्योगी, बैङ्कर्स सबैले कानुन जान्नु पर्छ । यसको व्याख्या गर्ने निकाय न्यायालय हो । न्यायालयको नेतृत्व पनि कानुन पढेकै विद्यार्थीले गर्ने हो । हामीलाई समाजका हरेक तहमा जाँदा कानुन आवश्यक हुन्छ, त्यसैले विश्वव्यापी रूपमै कानुनप्रति आकर्षण बढ्दो छ ।

थाहा थिएन भनेर गल्ती गर्दैमा कानुनले छुट दिँदैन । न्यायको क्षेत्रमा एउटा उक्ति प्रसिद्ध छ, ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन । सबैले कानुन जानेकै हुनु पर्छ ।’  यो प्रसिद्ध उक्तिले कानुनी राज्यमा यसको महत्वलाई प्रस्ट पार्छ । सामान्य ज्ञान प्राप्त गर्न पुरानो पुस्ताले १० वर्ष भौँतारिनुपर्ने बाध्यतालाई प्रविधिले १० मिनेटमा छोट्याइदिएको छ । त्यसैले आजको युवा पुस्ताले विद्यालय तहदेखि नै सामाजिकशास्त्र अर्थात् कानुनको अध्ययनलाई आकर्षक विषय मान्दै आएको छ । 

अहिले विद्यार्थीले एसइईपछि दुईवर्षे कानुनको पाठ्यक्रम पढ्न पाउँछन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका कानुन विषयका शिक्षक कुमार अधिकारीका अनुसार कक्षा ११ मा कानुन पढ्ने विद्यार्थीले अनिवार्य विषयबाहेक संवैधानिक कानुन, कार्यविधि कानुन, विधिशास्त्र तथा कानुनी सिद्धान्त पढ्छन् । कक्षा १२ मा नेपालको कानुन प्रणाली, कानुनी मस्यौदा, देवानी कानुन र फौजदारी कानुन तथा न्याय पढ्न पाउँछन् । 

विज्ञान पढेर एमबिबिएस र आइओईमा नाम निकाल्न सक्ने विद्यार्थीको आकर्षण कानुनमा रहेको उहाँको अनुभव छ । अधिकारी भन्नुहुन्छ, “पछिल्लो समय एमबिबिएस र आइओई इन्जिनियरिङको प्रवेश परीक्षाभन्दा बिएएलएलबी र एलएलबीको प्रवेश परीक्षामा कडा प्रतिस्पर्धा भइराखेको छ । कक्षा ११ र १२ पास गरेर विदेश जान्छु भन्ने भन्दा पनि सुदूर भविष्य देखेका विद्यार्थीको आकर्षण कानुनमा छ ।’’ यो विषय पढ्न थालेपछि कम्तीमा सात वर्षको धैर्य आवश्यक हुने उहाँ बताउनुहुन्छ । चर्चित कानुन व्यवसायीको बोलीचाली र प्रभावले कतिपय विद्यार्थी आकर्षित भएको अनुभव अधिकारीसँग छ । कतिपय पुराना कानुन व्यवसायीका छोराछोरीले यो विषय पढ्न चाहन्छन् । 

कक्षा ११ र १२ देखि नै कानुन पढ्नेलाई बिएएलएलबीको प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्न सहज हुने हुँदा कानुनमा विद्यालय तहदेखि नै आकर्षण बढेको अधिवक्ता स्वस्तिका दङ्गालको बुझाइ छ । विद्यालय तहमा कानुनको आकर्षण बढ्नुको कारण खोल्दै अधिवक्ता दङ्गाल भन्नुहुन्छ, ‘‘कक्षा ११ र १२ मा अनिवार्य विषयबाहेक सबै कानुन नै पढ्नु पर्छ ।  यो पढाइले सीमित कोटाका लागि हुने बिएएलएलबी र एलएलबीको प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्न सहज हुन्छ ।’’

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता प्राडा युवराज सङ्ग्रौला मुलुक सङ्घीयतामा गएपछि कानुन विषयको आकर्षण बढेको बताउनुहुन्छ । ‘‘देश सङ्घीयतामा गएपछि प्रदेश र स्थानीय सरकार बने । प्रदेश सरकारमा कानुन बन्ने प्रक्रिया सुरु भयो । स्थानीय तहमा न्यायिक सुनुवाइ हुने हुँदा कानुन व्यवसायीले देशभर काम गर्ने अवसर पाएका छन् । रोजगारीको अवसर र समाजमा परिचय हुने भएकाले राम्रो पढ्ने विद्यार्थीको आकर्षण कानुनमा बढेको छ,” प्राडा सङ्ग्रौला भन्नुहुन्छ ।

कानुन एउटा मात्र विषय नभएर समाजको अध्ययन भएकाले यसमा आकर्षण बढ्नु स्वाभाविक भएको उहाँको बुझाइ छ । अर्थशास्त्र, राजनीतिशास्त्र, मेडिकल विज्ञान, इन्जिनियरिङ, आधुनिक व्यवसाय, सरकारी सेवा, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक र निजी संस्थानलगायत हरेक क्षेत्रमा कानुनविज्ञको खाँचो हुने भएकाले पनि अवसरको हिसाबमा यो क्षेत्रको आकर्षण बढेको प्राडा सङ्ग्रौलाको बुझाइ छ । कानुनले युवा पुस्तालाई देशमै अवसर दिएको उहाँ बताउनुहुन्छ । “धेरै विद्यार्थी रहरले भन्दा बाध्यताले विदेश जान्छन् । कानुन पढेमा युवा पुस्तालाई देशमै बसेर काम गर्न पाउने आशा हुन्छ,” उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक डा. सुमन आचार्य कानुन सबैले जान्नुपर्ने विषय भएकाले यसको आकर्षण विश्वव्यापी रूपमै देखिएको बताउनुहुन्छ । “कानुन सबै मानिसले जान्नु पर्छ । कानुन नपढे पनि जान्नु पर्छ । सरकार, संसद्, कर्मचारी, उद्योगी, बैङ्कर्स सबैले कानुन जान्नु पर्छ । यसको व्याख्या गर्ने निकाय न्यायालय हो । न्यायालयको नेतृत्व पनि कानुन पढेकै विद्यार्थीले गर्ने हो । हामीलाई समाजका हरेक तहमा जाँदा कानुन आवश्यक हुन्छ, त्यसैले विश्वव्यापी रूपमै कानुनप्रति आकर्षण बढ्दो छ ।’’ 

मानिसको जन्मदेखि नै कानुनी प्रक्रिया आवश्यक हुन्छ । कुनै पनि काम गर्दा प्राकृतिक न्यायको उल्लङ्घन हुनु हुँदैन । न्यायाधीशले पनि प्राकृतिक न्यायमा पूर्वाग्राही हुनु हुँदैन । “करारीय सम्बन्ध जहाँ जहाँ हुन्छ त्यहाँ कानुन जरुरी हुन्छ । प्रक्रिया पूरा नगरे पनि कानुन उल्लङ्घन भएको मानिन्छ । मानिस जन्मिएपछि नै प्रक्रिया आवश्यक पर्छ । त्यसैले कानुन विषयले विश्व समाजको तुलनात्मक अध्ययन गरेको हुन्छ । कानुनको व्याख्या गर्दा न्यायाधीशले पनि प्राकृतिक न्यायको उल्लङ्घन गर्नु हुँदैन ।”

कानुनमा किन आकर्षण ?

मुलुक सङ्घीयतामा गएपछि महानगरदेखि वडा तहसम्म कानुन विषयका विज्ञले अवसर पाउन थालेपछि कानुनको आकर्षण बढेको अधिवक्ता कृष्णप्रसाद मरासिनी बताउनुहुन्छ । “पछिल्लो समय संघीय र प्रदेश सांसदले स्वकीय सचिव राख्दासमेत कानुन विज्ञलाई प्राथमिकता दिँदै आएका छन् । हरेक बैङ्कले कानुनी सल्लाहकार राख्छन् । जसको काम र सुविधामा आकर्षण बढ्दो छ,” अधिवक्ता मरासिनीले भन्नुभयो ।  स्थानीय तह अधिकारसम्पन्न भएकाले कानुन विषयका जानकार व्यक्तिले लेखापढी व्यवसाय गरेरसमेत राम्रो आम्दानी गर्न सक्छन् । स्थानीय तहमा मेलमिलापकर्ता छनोट गर्दासमेत कानुन अध्ययनलाई पहिलो प्राथमिकतामा राखिन्छ । निजी र कर्पोरेट क्षेत्रमा रोजगारी बढ्दै जाँदा कानुनविज्ञ अनिवार्य राख्नुपर्ने भएकाले थप आकर्षण बढेको छ । 

कानुनमै किन आकर्षण भन्ने प्रश्नमा अधिवक्ता मरासिनी भन्नुहुन्छ, “अन्य क्षेत्रमा जागिर खानु पर्छ । निश्चित समय बसेर जागिर खाने भनेको अर्काको काम गर्ने हो । कानुनको विज्ञ हुँदा आफ्नो काम परामर्शकर्ताका रूपमा स्वतन्त्र ढङ्गले गर्न सकिन्छ । त्यसैले यसमा आकर्षण बढेको छ ।” अधिवक्ता विजया शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा सचिव राख्नुपर्दा कानुनी विषयको जानकार हुनुपर्ने भएकाले यसको आकर्षण कर्पोरेट क्षेत्रमा देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कर्पोरेट क्षेत्रमा कम्पनी सचिव राख्दा कानुन पढेको व्यक्ति राख्नुपर्छ  । यसले सरकारीदेखि, गैरसरकारी र अन्तर्राष्ट्रिय कम्पनीसम्म कानुनका विद्यार्थीको आकर्षण छ ।’’

पिनाकल एकेडेमी, ललितपुरका प्रिन्सिपल डा. ऋषि तिवारी पछिल्लो समय अदालतको भूमिकाले कानुनको पढाइमा आकर्षण बढेको बताउनुहुन्छ । विगत १० वर्षदेखि कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउँदै आएको पिनाकलमा माथिल्लो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका विद्यार्थीको आकर्षण रहेको उहाँको अनुभव छ । सर्वोच्च अदालतले सरकार परिवर्तन गर्नेसम्मको अधिकार उपयोग गरेको देखेपछि यसप्रतिको आकर्षण बढेको उहाँको बुझाइ छ । “बजारमा अहिले कानुनको ‘चार्मिङ’ बढेको छ । देशको राजनीतिमा कानुन व्यवसायी र अदालतको भूमिका देखेर विद्यार्थी र अभिभावकको चासो बढेको देख्छु । कानुनको व्याख्या गर्ने उच्च निकाय सर्वोच्च अदालतले सरकार परिवर्तन गर्न सक्ने अधिकार देखायो । नेतृत्व विकासका लागि पनि कानुन विषयमा आकर्षण छ,” उहाँको भनाइ छ ।