काठमाडौँ, असार २१ गते । सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । ‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षक वृत्तचित्र जुलाई ३१ मा नेटफ्लिक्समा प्रदर्शन गरिने जनाइएको छ ।
वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ । दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेसनमा पर्नुभएकी निर्देशक लुसी वाकरको निर्देशनमा सो वृत्तचित्र निर्माण गरिएको हो । सो वृत्तचित्र अमेरिकाको न्युयोर्क सिटीको आइएफसी सेन्टर हलमा प्रिमियर गरिएको थियो । वृत्तचित्रमा लाक्पाको सगरमाथा आरोहणको कथा र जीवन सङ्घर्षको आरोह अवरोहलाई प्रस्तुत गरिएको छ ।
लाक्पाले १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले सन् २०२२ को मे १२ मा दसौँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँ सन् २००० मा सगरमाथा आरोहण गरेर सफलतासाथ फर्कने पहिलो नेपाली महिला बन्नुभएको थियो । लाक्पा २० वर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आउनुभएको छ । नेपालमा छँदा उहाँले गरेको सङ्घर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका पुगेपछि श्रीमान्बाट भोग्नु परेको घरेलु हिंसा, उक्त हिंसा देख्नुभएकी छोरीले भोगेको मानसिक आघातलगायतलाई पनि वृत्तचित्रमा देखाइएको छ ।