• २३ असार २०८१, आइतबार

डोजरले खोस्यो रोजगारी

blog

छायाँनाथ रारा नगरपालिका–७ को घुगनेओडारमा डोजरले सडक स्तरोन्नति गर्दै । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, असार २० गते । विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा   घरखर्च चलाउन समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिका –६ का स्थानीय देवीलाल भ्यालका अनुसार गाउँमा विकासे काम नपाउँदा बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्नका लागि घरमा अन्न नहुँदा बिचल्ली सुरु भएको छ । 

उहाँ भन्नुहुन्छ, ‘घरमै बसेर अनाज आउँदैन, मिहिनेत गर्नलाई ठाउँ छैन आफू त गाउँलेको खेतबारीमा गएर बिहान–बेलुका छाक टार्न सकिएला तर बालबच्चाको मन र पेट भोको छ । बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्न पाएहुन्थ्यो ।’

जिल्लामा पर्याप्त बेरोजगार जनशक्ति छ, तर यहाँ विकासे कार्यालय र स्थानीय सरकारले अधिकतम डोजरको प्रयोग गरिरहेका छन् । गाउँमा रहेका युवाहरू दिनभर डोजरले सडक खनेको हेर्दै दिन कटाउनुपर्ने बाध्यता छ । 

छायाँनथ रारा नगरपालिका–७ को घुगनेओडारमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा र जिल्लाको पूर्वाधार विकास कार्यालयको प्राविधिक सहजीकरणमा हिजोआज दुईवटा डोजरले दैनिक काम गरिरहेको स्थानीय धनबहादुर ऐडीले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख पदम देवकोटाका अनुसार जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगुमा कार्मारोङ गाउँपालिका त्यसैगरी छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा ३६ वटा योजना डोजरको प्रयोगबाट सडक निर्माण कार्य भइरहेका छन् ।