• २३ असार २०८१, आइतबार

पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक प्रहरी मिरर’ विमोचन

blog

ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ट्राफिक प्रहरी मिरर विमोचन गरिँदै । तस्बिर : ट्राफिक प्रहरी

काठमाडौँ, असार २० गते । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ट्राफिक प्रहरी मिररको बिहीबार विमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको  विमोचन गर्नुभएको  हो । 

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको ट्राफिक प्रहरी मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको समेत बताउनुभयो ‌।   

शुभकामना मन्तव्यको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक  केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताउनुभयो ।

विमोचन कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहासदेखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताउनुभयो ।  

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पहिलो पटक लिखित दस्ताबेजको रूपमा प्रकाशन भएको ट्राफिक प्रहरी मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लङ्ग पारेको बताउनुभयो । कार्यक्रममा ट्राफिक प्रहरी मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैङ्क, स्याकर ट्रेडिङ, सिप्रद्धि ट्रेडिङ लगायतका सङ्घ-संस्थाहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरिएको  थियो । 

रामशाहपथमा सम्पन्न भएको कार्यक्रममा अवकाश प्राप्त प्रहरी अधिकृत, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायी, यातायात मजदुर, प्रहरी वरिष्ठ अधिकृत तथा जुनियर अधिकृतहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरूका साथै विभिन्न सङ्घ-सस्थाका प्रतिनिधिहरू र  सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।