• २२ असार २०८१, शनिबार

बालबालिकामा पुस्तक पढ्ने बानीकाे विकासमा जाेड

blog

काठमाडौँ, असार २० गते । नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिनु भएको छ । बाल्यकालको अध्ययन बानीले जीवनभरका लागि काम लाग्ने बताउनु हुँदै उहाँले हिजोआज अध्ययनको संस्कार नै हट्दै गएको बताउनुभयो । 

बुधवार काठमाडौँमा प्राज्ञ–प्रतिष्ठानले आयोजना गरेको पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना विषयक गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । डिजिटल प्रविधिले पुस्तक अध्ययनको बानी हट्दै गएकाले बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व सबैको भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाजको सहकार्यमा बाल साहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईले बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा नेपाल प्रज्ञा –प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।गोष्ठीमा सहभागीका तर्फबाट प्राज्ञ प्रकाश तिवारी ,विजयराज न्यौपाने, इन्दिरा दली, शान्ता दाहाल, डा।मेघनाथ ढकाल ,वेदमणि घिमिरे , सन्तोष बस्नेत ,यशु श्रेष्ठ र माधव घिमिरेले आआफ्ना जिज्ञासासहित सुझाव दिनुभएको थियो ।

गोष्ठीका सभाध्यक्ष तथा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकाको पठन संस्कृतिसँग धेरै कुरा जोडिएका हुनाले यसको प्रवर्द्धनमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभएको थियो ।