• १३ पुस २०८१, शनिबार

मनसुन वरदान कि अभिशाप

blog

यस वर्षको मनसुनले मुलुकभर आफ्नो साम्राज्य फिँजाइसकेको छ । यसको नियमित चरित्र अनुसार यस वर्ष पनि मुलुकका विभिन्न भागमा जनधनको क्षति गरिरहेको छ । यस पटकको मनसुन जोखिमपूर्ण रहने प्रक्षेपणसहित यसको सम्भावित प्रतिकूल असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पर्छ । यसका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभागलगायतका निकायले सार्वजनिक अपिल जारी गरिसकेका छन् । 

मुलुकभर ३५ लाख ५० हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिन रहेको भए पनि लगभग १५ लाख ६० हजार हेक्टर क्षेत्रका लागि मात्र सिँचाइ पूर्वाधार पुगेको तथ्याङ्क छ । पूर्वाधार पुगेका मध्ये एक तिहाइ भागमा मात्रै वर्षैंभरिका लागि पुग्ने गरी सिँचाइ सुविधा पुगेको र दुई तिहाइ क्षेत्र सतह सिँचाइ प्रणालीमा आधारित छ । सतह सिँचाइ प्रणाली समेत मनसुनी चक्रमा आधारित छ । यस कारण अझै पनि हाम्रा अधिकांश किसान मनसुनी चक्रको पर्खाइमा निर्भर रहनुको विकल्प छैन । यस्तो अवस्थामा मनसुनी प्रणाली हाम्रो खेती प्रणालीका लागि अपरिहार्य छ । 

कुल गार्हस्थ उत्पादनको लगभग एक चौथाइ खण्ड ओगट्ने कृषि क्षेत्रको उत्पादकत्वमा प्रभाव पार्ने तत्व मनसुनी प्रणाली भएकाले यसले मुलुक समग्र अर्थतन्त्रलाई पार्न सक्ने असरलाई हामी सहजै अनुमान गर्न सक्छौँ । मनसुन अवधिका चार महिनामा पर्ने तिन चौथाइभन्दा बढी वर्षाको अनुकूल उपभोगभन्दा पनि प्रतिकूल असरबाट हामी धेरै प्रभावित रहँदै आएका छौँ । हरेक वर्ष मनसुनी वर्षाले ल्याउने बाढीजन्य विपत्, डुबान तथा पहिरोको कारण हुने जनधनको क्षतिबाट विशेष गरी आर्थिक र सामाजिक रूपमा विपन्न वर्गको जीविकोपार्जन मात्र हैन जीवनप्रणाली नै दीर्घकालीन रूपमा क्षतविक्षत बनाइदिएको हुन्छ । मनसुन एक प्राकृतिक प्रक्रिया भए पनि यसले निम्त्याउने प्रतिकूल असरको कारक तत्व हाम्रा मानवीय क्रियाकलाप पनि हुन भन्ने तथ्यमा अब विमति रहेन । मनसुनमा आधारित हाम्रो कृषि प्रणाली मात्र होइन, मुलुकको अर्थतन्त्रको एक प्रमुख आधार स्तम्भ मानिएको जलविद्युत् उत्पादन पनि सम्बन्धित छ । 

नेपालका नदीबाट उत्पादित विद्युतीय ऊर्जा नदी प्रणालीमा पानीको बहाव कम हुने हिउँदे मौसममा आन्तरिक माग आपूर्तिका लागि व्यवस्थापन गरिएको छ । मनसुनको कारण नदी प्रणालीमा उल्लेख्य बहाव हुने मौसममा उत्पादन गर्न सकिने जलविद्युत् ऊर्जा विदेश निर्यात गरी सोबाट मुलुकको व्यापार असन्तुलन घटाएर अर्थतन्त्र उकास्नु पर्छ । यही दिगो आर्थिक आधार तय गर्ने लक्ष्य राखिएकाले मनसुनी वर्षा र यसबाट सृजित हुने नदी बहावको उत्तिकै महत्व छ ।

मुलुकभर रहेका छ हजारभन्दा बढी नदी तथा खोलानालाको उचित उपयोग, नियमन तथा संरक्षण गर्न हामी चुकेका छौँ । सहर तथा ठुला बस्ती बिचबाट बहने नदी प्रणाली जल प्रदूषणको कारण लगभग ढलकै श्रेणीमा पुगिसकेका छन् । तसर्थ, यस्ता नदी प्रणालीको पर्यावरणीय महत्व जोगाउन र जनस्वास्थ्यको दृष्टिकोणबाट समेत सफाइका लागि मनसुनी वर्षा र यसबाट सृजित बहाव भन्दा दोस्रो कुनै पनि प्रभावकारी विधि हामीले विकास गर्न सकेका छैनौँ । बर्सात सुरु भएपछि मात्रै अचानक आउने अधिकतम बहावबाट यी नदी प्रणाली स्वतः सफाइ हुने चक्र चलिरहेको छ । हाम्रो जलचक्रमा मनसुन नहुने हो भने यी प्रदूषित नदी प्रणाली तथा पानीका स्रोतको नजिक कुनै पनि बस्ती बस्न लायक रहने थिएनन् । नदी प्रदूषण नियन्त्रणको दृष्टिकोणबाट समेत मनसुन महत्वपूर्ण छ । 

सिँचाइ संरचना पुगेको भनिएको क्षेत्रको करिब एक तिहाइ क्षेत्र भूमिगत सिँचाइ प्रविधिमा आधारित सिँचाइ प्रणाली रहेका छन् । यसबाहेक तराई तथा काठमाडौँलगायत विभिन्न उपत्यकाको खानेपानी आपूर्तिको एक प्रमुख स्रोतका रूपमा रहेको भूमिगत जलस्रोत भण्डारको पुनर्भरणमा समेत मनसुनकै प्रमुख भूमिका हुन्छ । हामीले मनसुनका नकारात्मक तथा विपत्जन्य भोगाइहरूको चर्चा गरिरहँदा यसका सकारात्मक योगदानहरूलाई पनि बिर्सनु हुँदैन । 

परम्परागत पशुपालन तथा खेती प्रणालीमा स्थानीय मनसुनी बाढीले मलिलो माटो, प्राङ्गरिक वस्तु तथा मलजन्य वस्तु सङ्कलन, ओसारपसार तथा स्थानान्तरण गरी किसानको खेतबारीसम्म पु¥याइ कृषिउपज उत्पादनमा योगदान पु¥याएको हुन्छ । क्षेत्रीय रूपमा पनि माथिल्लो भिरालो स्थानबाट मलिलो माटो मनसुनी पानीले बगाएर तल्लो क्षेत्रमा भएको कृषि भूमिको उत्पादकत्व बढाउँछ । 

हाम्रो भौगोलिक संरचना अनुसार मुख्य नदी प्रणाली क्रमशः उच्च हिमालय, महाभारत तथा चुरे क्षेत्रबाट उत्पन्न भई तराईको समथर भाग हुँदै दक्षिणी भूभागमा बहने हुन् । यी नदी प्रणालीले माथिल्लो भागको भौगोलिक चरित्र अनुसार मनसुनको उच्च बहावको बेलामा पानीसँगै उच्च दरमा थिग्रेनी बोकेर तलतिर बहेका हुन्छन् । यसरी बहने थिग्रेनीले माथिल्लो भागमा कटान गर्ने भए पनि क्रमशः तल्लो भागमा पुग्दा हरेक वर्ष नदीको सतह सन्तुलनमा ल्याउने तथा गुणस्तरीय नदीजन्य निर्माण सामग्री थुपार्ने कार्य गरिरहेको हुन्छ । यसबाट निर्माण कार्यका लागि सामग्री प्राकृतिक रूपमा उपलब्ध हुने तथा स्थानीय तहले राजस्व सङ्कलन गरी आफ्नो स्थानीय स्रोत मजबुत बनाउन पनि मद्दत पुगेको देखिन्छ । मनसुनी वर्षा र यसबाट सृजित बाढीका कारण हामीले सभावित विपत्को जोखिमका साथै अर्थतन्त्र, वातावरण, जनस्वास्थ्य, ऊर्जा तथा खाद्य सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रमा लाभ पनि प्राप्त गरिरहेका छौँ । मनसुनी वर्षाबाट सृजित विपत् जोखिम र लाभका अवसर बिच हाम्रा प्रयत्न र लगानी जोखिम न्यूनीकरण र लाभ अभिवृद्धिमा केन्द्रित हुनु जरुरी छ ।

मनसुनी प्रणाली प्राकृतिक जलचक्रमा आधारित प्रणाली हो । यसलाई नै प्रभावित पार्न सक्ने वा यसलाई हाम्रो प्रणाली अनुसार चलाउन सक्ने कुनै व्यवस्थित विधि हालसम्म विज्ञानले हामीलाई उपलब्ध गराएको छैन । तसर्थ, हाम्रो भौगोलिक तथा मौसमी अवस्थिति अनुसार प्राप्त मनसुनी अवसरलाई हामीले मूल्याङ्कन तथा आत्मसात् गरेर मात्र यसबाट सृजित हुन सक्ने विपत् जोखिम न्यूनीकरण तथा लाभ अभिवृद्धि गर्न सकिन्छ । यसका लागि हामीले प्राकृतिक तìव व्यवस्थापन गर्न नसके पनि हाम्रा मानवीय क्रियाकलाप तथा गतिविधि व्यवस्थित बनाउन सक्छौँ । 

धेरै जसो विनाशका घटना तथा विपत्का जोखिमको मुख्य कारण नै मानवीय क्रियाकलाप जस्तै अव्यवस्थित बसोबास तथा बस्ती विस्तार, बिनायोजनाका एकलकाटे विकासे गतिविधिहरू, नदी क्षेत्र अतिक्रमण, नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन, कडा कानुनी व्यवस्थाको अभाव, मौजुदा कानुनी व्यवस्थाको उल्लङ्घन, वातावरण संरक्षणप्रतिको उदासीनता एवं जनचेतनाको कमी रहेका छन् । अझै पनि कतिपय बस्ती जानाजानी बाढी तथा पहिरो जोखिमयुक्त स्थानमा रहेका छन् । ती बस्ती जोखिममा रहेको पहिचान भएर पनि न्यायोचित व्यवस्थापनसहित हटाउने कानुनी व्यवस्थाका अभाव एवं ती बस्तीमा बसोबास गर्ने नागरिकको चेतनामा कमीको कारण जोखिम मोलेरै त्यस्ता स्थानमा बसोबास गरिरहेकै छन् । 

पछिल्लो समयमा घना बस्ती तथा ठुला सहरमा बाढी तथा डुबानको ठुलो समस्या देखिने गरेको छ । कुन कुन क्षेत्र वा बस्ती डुबान तथा बाढीको जोखिममा छन् भन्ने यथेष्ट जानकारी भएर पनि समुदायको मात्रै नियन्त्रणमा त्यो समस्या समाधान हुन सक्दैन अनि सम्बन्धित निकाय तथा पालिकाले ती बस्तीको जोखिम न्यूनीकरण गर्न कुनै चासो दिँदैनन् । बरु विपत्को घटना भएपछि करोडौँको राहत बाँड्न अग्रसर हुने तर विपत् पूर्वको अवस्थामा केही लाख खर्च गरेर त्यो जोखिम घटाउन खास चासो र योगदान नदिने समुदाय र निकायको चरित्रले पनि समुदाय र मुलुकले ठुलो क्षति बेहोर्नु परेको छ । पहाडी तथा ग्रामीण क्षेत्रका समुदायबिच ती क्षेत्रमा विकास भनेकै सडक विस्तार गर्नु हो भन्ने भाष्य निर्माण गराउन राजनीतिक नेतृत्व र तिनका कार्यकर्ताको ठुलो भूमिका छ । आज तिनै अव्यवस्थित सडक निर्माण कार्यले मनसुनको बेला समुदायलाई ठुलो पहिरोको जोखिममा पारेका धेरै उदाहरण छन् । सहरी क्षेत्रमा अव्यवस्थित बसोबासका कारण प्राकृतिक पानी निकास प्रणालीको सञ्जाल पुरै ध्वस्त भएको छ । तुलनात्मक रूपमा राम्रो नदीप्रणाली तथा नदी निकास सञ्जाल रहेको उपत्यकामा समेत ती सञ्जालको अतिक्रमणले गर्दा बर्सातको समयमा जुनसुकै स्थान पनि डुबानको चपेटामा पर्ने जोखिम छ । 

कम्तीमा पनि अब स्थानीय तहहरूले आफ्ना बस्तीको निकास प्रणालीको समग्र अध्ययन गरी शून्य सहनशीलताका साथ सरकारी, समुदाय र निजी जो जसको निजी स्वामित्वकै घर जग्गा परे पनि वा जति नै स्रोत परिचालन गर्नु परे पनि, जुनसुकै प्रविधि अपनाएर भए पनि निकास प्रणालीको सुधार गर्नै पर्छ । भूमिगत पानी पुर्नभरणका लागि घरघरैदेखि अनिवार्य अभियानको सुरुवात गर्ने गराउने हो भने उपत्यकाभित्रका समुदाय डुबानको जोखिमबाट परै रहन सक्छन् । उपत्यकाभित्रका नदीप्रणालीले मनसुनी बाढी थेग्न नसक्ने होइनन्, यिनको प्राकृतिक बहाव र निकास माथिको मानवीय अतिक्रमणको कारण कार्यक्षमता गुमाएका मात्र हुन् ।

हाम्रो अहिलेको आमअभ्यास भनेको मनसुनलाई हाउगुजीका रूपमा लिने, यसका जोखिमपूर्ण परिणामलाई बढी चर्चा गराउने, पूर्व तयारीभन्दा पनि अझै पनि उद्धार र राहतमै बढी केन्द्रित हुने अनि जोखिम निम्त्याउन सक्ने हाम्रा मानवीय गतिविधि प्रति ‘मौनम स्वीकृति लक्ष्यणम्’ शैलीमा स्वीकारीरहनुमै सीमित छ । यसको सट्टा कम्तीमा नदी तथा जलाशयको नियमन, गुरुयोजनामा आधारित दीर्घकालीन नदी व्यवस्थापन र रैथाने एवं परम्परागत स्थानीय प्रविधिको पहिचान र प्रवर्धन गरी मनसुनलाई स्वाभाविक रूपमा लिनु पर्छ । यसको लाभदायक महत्वको पहिचान र उपयोग गर्ने र सम्भावित विपत् जोखिम न्यूनीकरणका लागि समुदायदेखि सबै सरोकारवालाले अन्य आयोजना जस्तो लाभहानिको यान्त्रिक विश्लेषणभन्दा माथि उठेर हस्तक्षेपकारी कार्ययोजना बनाई तत्काल लागु गर्न सकेमा मात्र मनसुन हाम्रा लागि वरदान साबित रहला अन्यथा अभिशापकै रूपमा निरन्तर चलिरहने छ ।