• २३ असार २०८१, आइतबार

नेपाली नाटकको भूमिकामाथि परिसंवाद

blog

काठमाडौँ, असार २० गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नाटक विभागद्वारा ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयक परिसंवाद बुधबार सम्पन्न गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नुभएको थियो । 

प्राज्ञ लम्सालले डबली र लोक नाटक, सडक नाटक, गीतिनाटक÷अपेरा, कचहरी नाटक, मुक्त रङ्गमञ्च र रेडियो नाटकलाई आफ्नो लघु अनुसन्धानका आधारका रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रूपान्तरणको प्रभाव, २०४६ सालसम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालीन अपेरा र जनसांस्कृतिक परिवार र वर्तमान अवस्थालगायतका पक्षलाई प्रस्ट पार्ने प्रयास गर्नुभएको छ । 

नाट्य अध्येता गीता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक ईश्वरचन्द्र ज्ञवालीले प्रस्तुत लघु अनुसन्धानमाथि टिप्पणी गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत लघु अनुसन्धानको प्रशंसा गर्र्दै छुटेका र समावेश गर्नुपर्ने विषयवस्तुलाई थप गरी अझै समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।  

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले बृहत् अध्ययन र अनुसन्धानका लागि प्रज्ञा–प्रतिष्ठानसँग स्रोतसाधनको कमी भए पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने बताउनुभयो ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले लघु अनुसन्धानको शीर्षक प्रस्ट नभएको बताउनुभयो । उहाँले ‘नेपाली नाटकको’ स्थानमा ‘नेपालीय नाटक’ शब्दको प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले नेपालीय शब्दले नेपालीलगायत नेपालका सम्पूर्ण भाषालाई समेट्ने भएकाले त्यसको प्रयोगमा जोड दिनुभयो । उहाँले यस्ता अनुसन्धानपत्र तयार पार्दा उद्देश्य, लक्ष्य र सीमा निर्धारण गरेमा सार्थकता पाउने बताउनुभयो ।    

नाटक विभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरले सामाजिक जागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न परिसंवाद आयोजना गरिएको बताउनुभयो ।

जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी, नाट्यकर्मी प्रवीण पुमा, जनगायक टेकबहादुर बमपाखीलगायतले नेपाली समाजको रूपान्तरणमा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्र्दै अनुसन्धानपत्रमा जनयुद्धकालीन नाट्य गतिविधिलाई अझ प्रभावकारी रूपमा समावेश गर्न सुझाव दिनुभयो ।