• २३ असार २०८१, आइतबार

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित

blog

सन्तोष सुवेदी

कास्की, असार २० गते । बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । 

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो । 

“प्याराग्लाइडिङको उडानका लागि उपयुक्त समय नभए पनि भारतीय पर्यटकले उडान गरिराखेका थिए तर निरन्तरको झरीले गर्दा अहिले उडान ठप्प भएको छ । दैनिक १५० को हाराहारीमा उडान हुँदै आएको थियो,” उहाँले भन्नुभयो । उहाँका अनुसार प्याराग्लाइडिङ व्यवसाय बर्खामास सोचेजस्तो नहुने प्रतिक्रिया दिनुभयो । भण्डारीले प्याराग्लाइडिङ उडान गर्नका लागि चारदेखि पाँच हजार रुपियाँ लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आन्तरिकभन्दा पनि भारतीय पर्यटक बढी छन् । 

उहाँका अनुसार पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी संस्थामा आबद्ध छन् । ३९० सय पाइलटमध्ये तीन सयले प्याराग्लाइडिङ उडान गर्छन् । सराङकोटको डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । 

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए । 

अहिले सराङकोटदेखि अलिकति पर मान्दे्रढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने गरेको छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । 

मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् । व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आए पनि मान्दे्रढुङ्गाबाटै उडान हुँदै आएको छ ।