• २२ असार २०८१, शनिबार

साढे सात अर्बको अलैँची निर्यात

blog

काठमाडौँ, असार २० गते । चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । 

अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो । आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । 

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । यीमध्ये सबैभन्दा धेरै निर्यात हुने देश नै भारत हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुनेमध्येको एक अलैँची हो । 

वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस्तै आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।