‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ नेपाली समाजमा चलिआएको लोकोक्ति हो । आफूसँग नभएको तर अधिक चाह भएको वस्तुको महिमा उजागर गरिएको भनाइले सुनको महत्वबोधसमेत गराउँछ । हरेक शुद्ध कर्ममा आवश्यक पर्ने मात्र नभई प्राण जाने बेलामा समेत मुखमा सुनपानी हालिदिने हिन्दु परम्परा अद्यापि कायमै छ । सुन जति महत्वको छ, उति नै महँगो पनि छ । यही महँगो धातुको अवैध कारोबारमा अनेक गिरोह सक्रिय रहेर राजस्व ठगी गरिरहेको अनुसन्धनहरूबाट पुष्टि हुँदै छ । नेपालमा सुनको वैध आयात केवल बैङ्कहरूले मात्र गर्न पाउँछन् । त्यसका लागि पनि दैनिक कोटा निर्धारण गरिएको छ । नेपाल र भारतमा सुनको मूल्य लगभग उस्तै छ भने अन्य मुलुकमा तुलनात्मक रूपमा धेरै सस्तो छ । युएई (दुबई) र हङकङमा नेपालभन्दा प्रतितोला २० हजार रुपियाँले सस्तो छ । हङकङमा प्रति १० ग्राम सुनको मूल्य करिब पाँच हजार हङकङ डलर अर्थात् करिब ८४ हजार नेपाली रुपियाँ पर्ने व्यापारीहरूको भनाइ छ ।
सुन तस्करीले मुलुकको अर्थतन्त्रलाई नकारात्मक असरसँगै अन्तर्राष्ट्रियस्तरमा मुलुकको छवि धूमिल बनाउँदै छ । बैङ्कबाहेक कसैले पनि प्रतीतपत्र खोलेर सुन ल्याउन कानुनले दिँदैन तर हन्डीमार्फत सुन तस्करीको कारोबार हुँदै आएकाले राजस्वमा ठुलो धक्का लागेको हो । विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध रूपमा भित्रिएको अनुसन्धानबाट पुष्टि भएको छ । सुन तस्करीका यस्ता घटना अनगन्ती छन् । कहिले स्कुटरको ब्रेक सु बनाएर, कहिले पानी तान्ने पम्पमा लुकाएर, कहिले मोबाइलको ब्याट्री बनाएर, कहिले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको अवस्थामा भन्सार कर्मचारी र प्रहरीले फेला पारेको छ । यी घटनामा राजनीतिक व्यक्तित्वदेखि उच्च तहका कर्मचारीसम्मको ‘सेटिङ’ मिलाएर अवैध धन्दा गरेको पुष्टि भइसकेको छ । कतिपयलाई कानुनी दायरामा ल्याइएको पनि छ तर मुख्य कारोबारीको जालो तोड्न नसक्दा कारोबार भइरहेकै छ । ‘सेटिङ’ मिलाएर गरिने भएकाले पक्राउ परेका घटना पनि थेरै मात्र भएको अनुमान हुन्छ ।
पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको ६० केजी सुन तस्करी सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गहिरिएर अनुसन्धान गरेको हो । पहिलो चरणको अनुसन्धानबाट केहीलाई मुद्दा चलाइसकिएको छ भने दोस्रो चरणको अनुसन्धानको पनि प्रतिवेदन सार्वजनिक गरिएको छ । दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुखले अनुसन्धानबाट नयाँ तथ्य बाहिर आएको जानकारी दिनुभयो । नाम मात्रका व्यापारिक कम्पनी दर्ता गरेर सामान आयात गरेको आवरणमा सुन तस्करी गरिरहेको तथ्य खुलेको हो । यस्ता देखावटी कम्पनीमार्फत मात्रै करिब ३० अर्ब ८२ करोड २३ रुपियाँ बराबरको सुन तस्करी भएको खुलेको छ । सिआइबीको अनुसन्धानबाट भारतीय नागरिकको लगानीसहितको संलग्नता पुष्टि भएको छ ।
तस्करीको जालो यतिमा मात्र सीमित छैन । तस्करीमार्फत भित्र्याइएको सुन अवैध रूपमा खरिद गर्न तथा बिक्रीबापतको भुक्तानी लिनसमेत छुट्टै कम्पनी खडा गरिएको तथ्य खुलेको छ । उनीहरूको कारोबारमा पे वेल र सजिलो पे नामका विद्युतीय भुक्तानी कम्पनी प्रयोग भएको खुलेको हो । तस्करीको सुन खरिदबिक्री गर्न यी कम्पनीमार्फत एक खर्ब आठ अर्ब रुपियाँको कारोबार भएको र पछिल्लो एक वर्षमा मात्र ८६ अर्ब १७ करोड रुपियाँभन्दा बढी यी दुई भुक्तानी प्रणालीमा जम्मा भएको रकमलाई विद्युतीय भुक्तानी प्रणालीमा रूपान्तरण गरेर युएसडिटीमार्फत हङकङ र दुबईमा सुन खरिद गर्न प्रयोग गरेको खुलेको हो । यी कम्पनीका सञ्चालक र एजेन्टसहितका २० जना र फरार २६ गरी ४६ जनाविरुद्ध दुई खर्ब ६६ अर्ब ६७ करोड रुपियाँभन्दा बढीको बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
कुल ५६२ पृष्ठको अनुसन्धान प्रतिवेदनमा करिब तीन हजार दुई सय केजी सुन तस्करी भएको निष्कर्ष सिआइबीले निकालेको छ । यसरी हङकङ तथा दुबईबाट नेपालमा हुने गरेको सुन तस्करीका मुख्य लगानीकर्ता देखिएका चिनियाँ नागरिक दाओजिन वाङ भने फरार छन् । विदेशी नागरिकले नेपालको बाटो भएर अवैध कारोबार गर्न सेटिङ मिलाउँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको साख गिराउने काम भएको छ । तस्करीको जालो तोडेर सुरक्षा व्यवस्थालाई चुस्त बनाउनुका साथै सम्बन्धित सबै पक्षले जिम्मेवारीबोध गर्नु वाञ्छनीय छ ।