• २१ असार २०८१, शुक्रबार

अञ्जनीलाई कौसी क्विनको उपाधि

blog

काठमाडौँ, असार १९ गते । ‘कौसी क्विन–२०८१’ को ताज अञ्जनी जोशीले हात पार्नुभएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले आयोजना गरेको चौथो कौसी क्विन २०८१ को कौसी क्विनको उपाधि जोशीले प्राप्त गर्नुभएको क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो । 

यस वर्षको कौसी क्विनको फस्र्ट रनरअप गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनरअप कमला घिमिरे र थर्ड रनरअपको उपाधि कमलमाया श्रेष्ठले प्राप्त गर्नुभएको छ । क्रिएसनले प्रत्येक वर्ष कौसी क्विन प्रतियोगिता आयोजना गर्दै आएको छ । क्विनको उपाधि पाउनुभएका जोशीलाई कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साहले ताज लगाई दिनुभयो । 

अन्य विजेतालाई मन्त्री साहलगायत सचिव डा. राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

प्रतियोगितामा देशभरबाट २५ जनाभन्दा बढी महिलाको सहभागिता थियो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्धन गर्ने र कौसी खेती गरिरहेकालाई थप प्रोत्साहित गर्न निजी क्षेत्रबाट कार्यक्रमको आयोजना गर्दै आएको छ ।