• २१ असार २०८१, शुक्रबार

दुध उत्पादन बढाउन किसानलाई पाडी वितरण

blog

बुटवल समाचारदाता

बुटवल, असार १९ गते । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण सुरु गरेको हो ।

जस अनुसार आइतबार बुटवल–१२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरेको बताउनुभयो । उहाँले वितरण गरिएका पाडीको बिमा गरी किसानलाई उपलब्ध गराएको बताउनुभयो ।

आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपन्छी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।

बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका–१४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो ।

मिल्क चिलिङ भ्याट एक हजार लिटर क्षमताको हाफ राउन्ड तीन टन क्षमताको एकल रेफ्रिजेरेसन युनिट, कन्ट्रोल प्यानलसहितको मेसिन उपलब्ध गराइएको हो । पशुपन्छी विकास अधिकृत बञ्जाडेले गाईभैँसी गोठ सुधारतर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो । 

गाईभैँसी गोठ सुधार, बाख्रा, कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बङ्गुर खोर सुधारतर्फ अनुदान दिएको उहाँको भनाइ छ ।