• १२ पुस २०८१, शुक्रबार

सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत

blog

काठमाडौँ, असार १८ गते । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । गएको वर्ष १५० जना (३.८३ प्रतिशत) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २५९ प्रतिशत सुधार आएको छ । 

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष तीन हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये तीन हजार ८६ जना (७८ प्रतिशत) उत्तीर्ण भएका छन् । ८७३  जना (२२ प्रतिशत) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । गएको वर्ष तीन हजार ९१२ जना आवेदक थिए ।

झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष एक हजार ५० जना (२६.५२ प्रतिशत) छ । गएको वर्ष यो सङ्ख्या ४८८ जना (१२.४५ प्रतिशत) थियो । यो समूहमा गएको वर्षभन्दा यस वर्ष ११३ प्रतिशतले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।

३.२० देखि २.८१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष एक हजार ८० जना (२७.२८ प्रतिशत) छ । गएको वर्ष ८०९ जना (२०.६३ प्रतिशत) थियो । यस वर्ष गएको वर्षभन्दा ३२ प्रतिशत सङ्ख्या वृद्धि भएको छ । यस्तै, २.८० देखि २.४१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष ३९५ जना (९.९८ प्रतिशत) छ । यसमा गएको वर्ष ९८२ जना (२५.०४ प्रतिशत) थियो । यस्तै, २.४० देखि २.०१ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष १६ जना (०.४० प्रतिशत) छ । गएको वर्ष यो सङ्ख्या ९२३ जना (२३.५४ प्रतिशत) थियो । यो नतिजाले कम सङ्ख्या ल्याउने विद्यार्थीको सङ्ख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।

२ र त्यसभन्दा तल जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८७३ छ । यो २२.०५ प्रतिशत हो । गएको वर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।

विश्व निकेतनका चार जना विद्यार्थीले ल्याए ४ जिपिए

काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका चार जना विद्यार्थीले जिपिए ४ ल्याएका छन् । यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट सङ्ख्या हो । यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, वाफलका तीन जना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका दुई जना र तरुण माध्यमिक विद्यालय, बालाजुका एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । यसरी महानगरपालिकाभित्रका ५८ विद्यालयमध्ये चार वटा विद्यालयका १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको हुन् । 

उत्कृष्ट नतिजाका लागि महानगरपालिकाको प्रयत्न

प्राप्त नतिजा महानगरपालिकाले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धि हो । नतिजा  सुधार  कार्यक्रमअन्तर्गत विद्यालयको आवश्यकताअनुसार दुईदेखि तीन महिनासम्म  गणित, विज्ञान र अङ्ग्रेजी विषयका लागि विशेष कक्षा सञ्चालन गरिएको थियो । सिकाई उपलब्धिका लागि उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयले माग गरेअनुसार काठमाडौँ महानगरपालिकाले अनुदान रकम उपलब्ध गराएको थियो । कार्यक्रम र बजेट हुँदा पनि सक्षम जनशक्तिको अभावमा नतिजा प्राप्त गर्न नसकिने हुँदा काठमाडौँ विश्वविद्यालयबाट सिकाइ सुधारका विशेषज्ञ शिक्षकको उपलब्धता गराइएको थियो ।

पुस्तकरहित शुक्रबारको माध्यम बाट सह–पाठ्यक्रम र अतिरिक्त  क्रियाकलापमा जोड दिँदै विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।

शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन विद्यार्थीको सिकाइ कमजोरी हुनुको मूल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाको आधार अहिले पनि अनुसन्धान भइरहेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भएको ‘टिचर कलेज कार्यक्रम’ यसको एउटा उदाहरण हो ।

शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना र त्यसको कार्यान्वयन  इनपुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ । नतिजा र प्रभावको अन्तर्निहित सम्बन्ध स्थापना गर्ने योजना यस कार्यक्रमबाट स्थापित हुनेछ ।

कक्षा कोठामाभन्दा खुला, अतिरिक्त र बाहिरी क्रियाकलापले नतिजा बढाएको झा बताउनुहुन्छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् । उहाँको भनाइ छ ।