• २० असार २०८१, बिहिबार

‘पढ्दै, कमाउँदै’ विद्यार्थी

blog

बाँकेको राप्तीसोनारी २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्राविधिक धारका विद्यार्थीहरु विद्यालयको खेतमा धान रोपाइँ गर्दै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार १८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सृष्टि रेग्मी खेतमा धान रोप्दै गरेको अवस्थामा भेटिनुभयो । रेग्मी आफ्नो खेतमा नभएर विद्यालयको खेतमा धान रोपिरहेको अवस्थामा भेटिनुभएको हो ।

“म यस विद्यालयमा १० कक्षामा अध्ययनरत छु, कृषि प्राविधिक विषय लिएर अध्ययन गरिरहेकी छु, आज स्कुलको खेतमा धान रोपाइँ भइरहेको छ र म धान रोप्न आएकी हुँ ।” रेग्मीले भन्नुभयो, “सबै साथीहरू मिलेर धान रोपाइँ गर्दा रमाइलो पनि भएको छ, पढाइका सँगसँगै धान रोप्दा प्रयोगात्मक परीक्षामा नम्बर पनि पाइन्छ र खर्च पनि पाइने रहेछ ।”

रेग्मीसँगसँगै दर्जनौँ विद्यार्थीहरूले खेतमा रोपाइँ गरिरहेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा वलीले कृषि खेतीका बारेमा पनि जानकारी हुने, विद्यालयमै यसका बारेमा धेरै सीप र ज्ञान हासिल गर्न पाइने र सोही ज्ञानलाई घरमा लगेर प्रयोगसमेत गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले अङ्ग्रेजी भाषासमेत सिक्न मद्दत पुगेको बताउनुभयो ।

कक्षा १० मा अध्ययनरत अर्की छात्रा सुजिता थारुले भन्नुभयो, “अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ, अङ्ग्रेजी बेस पनि हुने भयो, हामी खेती किसानी गर्ने परिवारका हौँ, यहाँ सिकेका कुराहरू घरमा गएर लागु गर्छौँ मैले सिकेको ज्ञान बुवाआमाले पनि सिक्नुहुन्छ र काम गरेबापत दैनिक ज्यालासमेत पाइने हुँदा हामी सबै खुसी छौँ ।”

“सरहरूले काम गरेबापत दैनिक ३ सय रुपियाँ दिने भन्नुभएको छ, त्यस पैसाबाट कापीकलम किन्न, परीक्षा शुल्क तिर्न तथा खाजा खर्चसमेतलाई पुग्छ।” कक्षा १० मा अध्ययनरत दीपेन्द्र थारुले भन्नुभयो, “काम गरेबापत पैसा पनि पाइने र प्राक्टिकल नम्बर पनि पाइन्छ, ५० प्रतिशत थ्योरी र ५० प्रतिशत प्राक्टिकल हुन्छ ।”

राप्तीसोनारी २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारको कृषि बाली विज्ञान विषयमा पढाइ हुने गरेको छ । पछिल्लो समयमा यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको रुचि बढ्दै गएको बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्य । 

विद्यालयमा २०७६ सालबाट कृषि बाली विज्ञान अन्तर्गत प्राविधिक धारको पढाई सुरु भएको उहाँले बताउनुभयो । हाल कक्षा ९ देखि १२ सम्म १५५ जना विद्यार्थीले यस विषयमा अध्ययन गरिरहेका छन् । यसै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पढाइका अलावा सीपका साथै आर्थिक अवस्थामा पनि टेवा पुगोस् भनेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरिएको उहाँको भनाइ छ ।

“अहिले धान रोपाइँको सिजन छ, विद्यार्थीले बिउँ राख्ने, हुर्काउने, पानी लगाउने, मल हाल्ने, गोडमेल गर्ने, कीटनाशक औषधि हाल्ने लगायतका सबै कामहरू गरिरहेका छन्, उनीहरूले पढाइ पनि गर्दैछन् कृषिमा सीप र ज्ञान पनि सिक्दैनन्, त्यति मात्र नभएर विद्यार्थीहरूलाई उनीहरूले श्रम गरेबापत दैनिक ३ सय रुपियाँ ज्यालासमेत दिने निर्णय गरेका छौँ,” प्रअ आचार्यले भन्नुभयो ।

विद्यार्थीका पढाइका अलावा आयस्रोतसँग जोडिन, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर आयआर्जनका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको उहाँको भनाइ छ ।

उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखिने र त्यसलाई ‘सिड मनी’का रूपमा प्रयोग गरिँदै आएको छ । “उत्पादन बिक्रीबाट भएको आम्दानीलाई पढ्दै कमाउँदै कोषमा राख्छौँ, त्यसलाई सिड मनीका रूपमा प्रयोग गर्दै आएका छौँ,” प्रअ आचार्यले भन्नुभयो, “इच्छुक विद्यार्थीहरूले आफ्नो घरमा कृषि खेती गर्न चाहेमा बिना ब्याजमा नगद रकम प्रदान गर्छौँ, आवश्यक बिउ, मल, प्रविधिसमेत दिन्छौँ, उत्पादन भइसकेपछि बिक्री गरेर उनीहरूले सावाँमात्र फिर्ता गरे हुन्छ ।”

विद्यालयले १२ बिगाहा क्षेत्रफल जग्गामा सिजनअनुसार धान, गहुँ, मकै, तरकारी, जडीबुटी लगायतका खेती गर्दै आएको उहाँले बताउनुभयो । जमिनलाई आवश्यक मल जोहो गर्न गाईपालन, बाख्रापालन तथा घाँसखेतीसमेत गर्दै आएको उहाँले जानकारी दिनुभयो ।