• २० असार २०८१, बिहिबार

सङ्ग्रहालयमा शान्ति प्रक्रियाको अभिलेखीकरण

blog

काठमाडौँ, असार १८ गते । दसबर्से द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेखसहितको चित्र/फोटो, कलात्मक डिजाइनसहित ‘शान्ति ग्यालरी’ को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहद्वारा बुढानीलकण्ठ–७ स्थित छहारीको भवनमा स्थापित शान्ति ग्यालरीको सोमबार शुभारम्भ गरिएको हो । 

सो अवसरमा शान्ति स्थापनाका लागि समग्र नेपाली महिलाले पु¥याएको योगदान झल्काउने ‘आराध्याती’ स्तम्भको अनावरणसमेत गरिएको छ । सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पु¥याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटो घटनाक्रमको विवरण राखिएका छन् । 

शान्ति ग्यालरीमा नेपालले झेलेको १० बर्से जनयुद्ध र त्यसबाट नेपाली समाजलाई परेको प्रभाव, धेरै महिलाले एकल भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नु परेको सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिलाई तिथिमितिसहित चित्र र फोटोमा हेर्न र पढ्न पाइन्छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो, “नेपाली समाज व्यवस्थामा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हिंसा हुने सम्भावना छ । एकल भएपछि भोग्नुपर्ने विडम्बनाको त बयान गरी साध्य छैन । यस्तो परिस्थितिमा लिली थापालगायतले जुटेर देखाएको हिम्मतले शान्ति ग्यालरीको स्थापना गरेर योगदान पु¥याउनुभएको छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्को मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अघि बढ्न सक्ने सशक्त महिलाको योगदानलाई शान्ति  ग्यालरी र ‘आराध्याती’ सालिकका रूपमा अभिलेखीकरण गरिएको बताउनुभयो ।

उहाँले संस्कृत शब्दमा आराध्यातीको अर्थ बलिदानी र योगदानी हुने प्रसङ्ग उल्लेख गर्दै समाज व्यवस्थालाई जतिसुकै विपत्ति आइपरे पनि साहस र सुझबुझसाथ कायम राख्ने सबै महिला आराध्याती हुन् भन्नुभयो ।     

समूहका अध्यक्ष कविता पाँडेले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र आफू कम्बोडियाको भ्रमण जाँदा त्यहाँको शान्ति ग्यालरीको अवलोकन गरेपछि फुरेको विचारलाई नेपाल आएर मूर्त रूप दिने क्रममा शान्ति ग्यालरीको जन्म भएको जानकारी दिनुभयो ।  सो अवसरमा युएन वुमन संस्थाका प्रमुख प्याट्रियाले एकजुट हुनु नै शक्ति हुन् भन्ने उदाहरण नेपाली एकल महिला समूहले प्रस्तुत गरेको र शान्ति ग्यालरीले सिङ्गै समाजलाई सशक्तीकरणतर्फ हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

चिरञ्जीवी भण्डारीको नेतृत्वमा सङ्कलन गरिएका चित्र/फोटो र विभिन्न घटनालाई सिलसिलेवार र कलात्मक ढङ्गले राखिएको शान्ति ग्यालरीको डिजाइन श्रद्धा सिंहले गर्नुभएको हो । एकल महिला समूहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझीले शान्ति ग्यालरीको अवलोकन/भ्रमण, अध्ययन र अनुसन्धान गरेर विद्यार्थी, कलाप्रेमी, शान्तिप्रेमी र प्रभावितका साथै नयाँ पुस्ताले समेत शान्ति प्रक्रियाबारे जानकारी लिन सकिने बताउनुभयो ।