• १९ असार २०८१, बुधबार

शिक्षक सरुवाको असर एसइईमा

blog

कालीकोट समाचारदाता 

कालीकोट, असार १७ गते । रास्कोट नगरपालिकाले गरेको मनपरी शिक्षक सरुवाको असर एसइई परीक्षमा परेको छ । नगरप्रमुख धर्मराज शाहीले मनोमानी ढङ्गले शिक्षकको काज सरुवा गर्दा २०८० सालको एसइई परीक्षाको नतिजा कमजोर भएको आरोप स्थानीय नगरवासीको छ । आफ्नो पार्टीलाई समर्थन गर्ने शिक्षकलाई विद्यालय प्रशासनको जिम्मेवारी दिने गरिएको, नियमविपरीत शिक्षक सरुवालगायत विभिन्न कारणले एसइई नतिजामा प्रत्यक्ष असर परेको बताइन्छ ।ल सो नगरपालिकाका चार वटा माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयको नतिजा कमजोर देखिएको छ । नगरप्रमुख शाहीकै गाउँमा रहेको कालासिल्ला माध्यमिक विद्यालयबाट ३५ जना विद्यार्थीले परीक्षा दिएकामा तीन जना मात्रै पास भएका छन् । 

पास हुने तीन विद्यार्थी पनि संस्थागत विद्यालयमा अध्ययन गरेर परीक्षा फाराम मात्र कालासिल्ला माविबाट भरेका थिए । मोतीराम माध्यमिक विद्यालय सेराचौरबाट २५ जना विद्यार्थी सहभागी भएकामा नौ जना र जनजागृति माध्यमिक विद्यालय फुकोटबाट ४३ जना परीक्षामा सहभागी भएकामध्ये २० जना पास भएका छन् ।नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमध्ये बडीमालिका माविले मात्र राम्रो नतिजा निकालेको छ । सो विद्यालयका ४० जना सहभागीमध्ये ३५ जना पास भएका छन् । पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । 

नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमध्ये तीन विद्यालय प्रशासनको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नेताले गरेका छन् । नगर प्रमुख शाहीले रिझाएका व्यक्तिलाई प्रअको जिम्मेवारी दिन शिक्षकको काज सरुवा गर्दै तीन माविको नेतृत्व सङ्गठनमा आबद्ध शिक्षकलाई दिइएको आरोप लाग्दै आएको छ ।