• १७ असार २०८१, सोमबार

अलपत्र नमुना थारूग्राम

blog

लीलाधर वली

घोराही, वैशाख १७ गते । थारू जातिले बसोबास गर्ने घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिब १३ वर्ष पहिले स्थापना भएको सिसहनिया नमुना थारूग्राम अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावसँगै नमुना थारूग्राम सञ्चालनका लागि नयाँ पुस्तामा ज्ञान नहुँदा २०६५ सालमा सञ्चालनमा आएको नमुना थारूग्राम बन्द हुन पुगेको हो । 

थारू जातिका परम्परागत घर, उनीहरूले प्रयोग गर्ने भाँडाकुँडा, लगाउने कपडा, बोलिने भाषा, बसाइँसराइ झल्काउने चित्रसँगै अन्य विभिन्न कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले तीन लाख १५ हजार रुपियाँ खर्च गरेर घोराही उपमहानगरपालिका–७, सिसहनियामा थारू जातिका परम्परागत पाँचवटा घर निर्माण गरेको थियो । घर निर्माणसँगै थारू जातिसँग सम्बन्धित विभिन्न चित्रसमेत बनाइएको छ । घरमा भित्तामा घोडा, हात्ती, माछाका चित्र, थारूले शिखर बोकेका चित्रसँगै घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्री राखिएको सिसहनिया नमुना थारूग्रामका अध्यक्ष बेझलाल चौधरीले बताउनुभयो । 

उहाँका अनुसार उक्त स्थानमा धान कुट्नलाई प्रयोग गरिने ढिकी, चाखीसँगै तेल पेल्नलाई प्रयोग गरिने कोलसमेत राखिएको छ ।  “थारू जातिका परम्परागत पाँचवटा घर बनाएर करिब चार बिघा जमिनलाई नमुना थारूग्रामका रूपमा विकास गर्ने प्रयास गरिएको थियो,” अध्यक्ष चौधरीले भन्नुभयो, “तर होमस्टे सञ्चालनका लागि ज्ञानको अभावसँगै कुनै निकायबाट सहयोग नपाउँदा नमुना थारूग्रामको काम अघि बढ्न सकेन ।”

स्थापनासँगै केही समय त्यहाँ पुग्ने पाहुनालाई थारू खाना, रीतिरिवाजबारे जानकारी दिनेसँगै मनोरञ्जनका लागि नृत्यसमेत देखाइने गरे पनि पछि त्यो पनि छुटेको अध्यक्ष चौधरी बताउनुहुन्छ । उहाँका अनुसार सुरुमा घुम्न जाने पाहुनालाई बास बस्नका लागि व्यवस्था गरिएको थियो । नमुुना थारूग्रामलाई विकास गर्दै उक्त स्थानमा थारू सङ्ग्रहालय स्थापना गरिने, ग्रिनपार्कलगायतका संरचना निर्माण गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि संरचना निर्माण नहुँदा १३ वर्षदेखि नमुना थारूग्राम अलपत्र बन्न पुगेको उहाँले बताउनुभयो । 

थारू जातिको इतिहास, संस्कृति र रीतिरिवाजबारे जानकारी दिने उद्देश्यले घरहरू निर्माण गरिए पनि आर्थिक अभावका कारण नमुना थारूग्राम सञ्चालन हुन नसकेको थारू कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरीले बताउनुभयो । स्थानीय सरकारको सहयोग र नमुुनाग्रामको प्रचारप्रसार हुन सके थारूग्रामलाई सञ्चालनमा ल्याउन सकिने चौधरीको भनाइ छ । 

घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले सिसहनिया नमुना थारूग्राम सञ्चालनका लागि प्रयास भएर पनि सञ्चालनमा आउन नसकेको बताउनुभएको छ । “सिसहनियामा रहेको नमुना थारूग्रामलाई सञ्चालनमा ल्याउनका लागि उपमहानगरपालिकाको प्रयास भएको थियो,” सूचना अधिकारी चौधरीले भन्नुुभयो, “तर बजारदेखि टाढा भएको र स्थानीय सक्रिय नहुँदा सञ्चालन आउन सकेको छैन ।”