• १८ असार २०८१, मङ्गलबार

प्रदेशभर खस्कियो एसइई नतिजा

blog

बुलबुले समाचारदाता 

सुर्खेत, असार १६ गते । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीका आधारमा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कर्णालीका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । 

ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन हुँदा प्रदेशभर आधाभन्दा बढी अर्थात् ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस प्रदेशबाट एसइई दिएका ३५ हजार ४४६ विद्यार्थीमध्ये १४ हजार ६५४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार २० हजार ७७९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । यो वर्ष प्रदेशभरबाट ४१.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।

जाजरकोटमा ५५ प्रतिशत उत्तीर्ण

जाजरकोटबाट चार हजार ५७२ परीक्षार्थीले एसइई दिएकामा दुई हजार ५२९ उत्तीर्ण भएका छन् । दुई हजार ४३ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ५५.३४ रहेको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटकी प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

सुर्खेतमा ३३ प्रतिशत 

एसइईको नतिजामा सुर्खेतका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । जिल्लाभर ३३.७४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । सात हजार ९७९ परीक्षार्थीले परीक्षा दिएकामा दुई हजार ६९२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । पाँच हजार २८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।

दैलेखमा न्यून उत्तीर्ण

दैलेखबाट चार हजार ९१५ जनाले एसइईको परीक्षा दिएकामा ८२८ विद्यार्थी मात्र उत्तीर्ण भए । चार हजार ८७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रतन विष्टले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।

सल्यानमा ५० प्रतिशत उत्तीर्ण

सल्यानको परीक्षाफल पनि राम्रो देखिएको छैन । चार हजार ५२९ विद्यार्थीले परीक्षा दिएकामा दुई हजार ३०३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लालबहादुर घर्तीमगरले ५०.८७ प्रतिशत उत्तीर्ण भएको बताउनुभयो ।

हुम्लामा ४६ प्रतिशत उत्तीर्ण

हुम्ला जिल्लाबाट ४६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक हजार १६९ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जिल्लाका ६२९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको निमित्त शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश आलेमगरले बताउनुभयो ।

रुकुमपश्चिममा ६४ प्रतिशत उत्तीर्ण 

रुकुमपश्चिमबाट तीन हजार ५६० जनाले एसइई परीक्षा दिएका थिए । जसमध्ये दुई हजार २२३ जना उत्तीर्ण भएका छन् । जिल्लाका ६४.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तारा पुनमगरले बताउनुभयो । एक हजार २७७ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।

कालीकोटमा ३७ प्रतिशत उत्तीर्ण

कालीकोटबाट एसइईमा ३७.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन हजार ६१५ जनाले एसइई परीक्षा दिएकामा एक हजार ३६६ विद्यार्थी उत्तीर्ण भएका हुन् । दुई हजार २४९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको बताइएको छ । 

मुगुमा ४४ प्रतिशत उत्तीर्ण

मुगु जिल्लाबाट ४४ प्रतिशत विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ अनुसार एक हजार ३० जनाले एसइई परीक्षा दिएका थिए । त्यसमध्ये ४५४ जना मात्र उत्तीर्ण भएका छन् । ५७६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।

जिपिए ४ ल्याउने प्रदेशकै एक्लो छात्र

कर्णाली प्रदेशबाट एक मात्रै विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । सुर्खेतस्थित भ्याली मेरिडियन एकेडेमी बोर्डिङका छात्र दिनेश शर्माले ४ जिपिए प्राप्त गर्नुभएको हो । 

खस्किँदो शैक्षिक गुणस्तर

यस वर्ष पनि कर्णाली नतिजामा कमजोर देखिएको छ । थोरै विद्यार्थीले मात्रै उच्च ग्रेड ल्याएका छन् । सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधवप्रसाद खनालले २०८० को एसइईमा कर्णालीको नतिजा कमजोर हुनुमा समयमै पाठ्यपुस्तक उपलब्ध नहुनु, विषयगत शिक्षक नहुनुजस्ता कारण रहेको बताउनुभयो ।