• १८ असार २०८१, मङ्गलबार

देशभर स्केटिङ मैदान बनाउनु पर्छ : मन्त्री जोशी

blog

गोरखापत्र अनलाइन

काठमाडौ, असार १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र लोभ्याउने सुन्दर खेल भएको बताउँदै ७५३ वटै पालिकामा त्यसका लागि खेल मैदान बनाउनु पर्ने बताउनुभएको छ । 

सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप कार्यक्रम २०८१ मा शनिबार उहाँले स्थानीय तहमा खेल मैदान बनाउन मन्त्रालयले स्थानीय सरकारकासँग समन्वय गर्ने बताउनुभयो । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा काठमाडौको टोखामा आयोजित सो कार्यक्रममा सर्जक तथा गायक प्रकाश सपुतले सो खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सो खेल आफ्नो पालिकामा आयोजना हुँदा आफ्नो पालिकाको गौरव बढेको बताउँदै आफ्नो पालिकाको कुनै पनि खेलाडि आर्थिक अभावका कारण देशभित्र वा बाहिर हुने कुनै खेल खेल्नबाट बञ्चित हुनु नपर्ने बताउनुभयो ।

सो क्रममा मन्त्री जोशी, कलाकार सपुत, नगरप्रमुख अधिकारी र नेपाल ओलम्पिक कमिटीका महासचिव मिलेन्द्रराज श्रेष्ठलगायतले खेलाडीलाई स्केटबोर्ड हस्तान्तरण गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर  पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका छन् । 

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार ती खेलाडीलाई  खुल्ला सिनियर पुरुष, खुल्ला जुनियर पुरुष, खुल्ला महिला सिनियर र खुल्ला जुनियर महिला स्केटिङ च्याम्पियनसिप गरेर चारवटा विधामा खेलाइएकोे छ ।