• १७ असार २०८१, सोमबार

हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता

blog

हिलोमा भएको रस्साकस्सी प्रतियोगिता । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार १५ गते । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को अवसरमा रुकुम पश्चिममा हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता सम्पन्न गरिएको छ । 

कृषि विकास कार्यालय रुकुमपश्चिमको आयोजनामा मुसीकोट नगरपालिका–४ सोलाबाङमा सचेतनामूलक र्‍याली, उत्कृष्ट किसानलाई पुरस्कार, हिले दौड, हिलोमा रस्साकस्सी र रोपाई कार्यक्रम गरिएको हो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ दिवस विशेष कार्यक्रम मनाइएको हो । 

दिवसको अवसरमा हिलोमै जनप्रतिनिधि, कर्मचारी, किसान बिचमा रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको छ । जनप्रतिनिधि र कर्मचारीहरू बिच भएको रस्साकस्सी प्रतियोगितामा जनप्रतिनिधिको समूह विजय भएको छ भने महिला कर्मचारी र महिला कृषकहरू बिचमा भएको रस्साकस्सीमा महिला कृषकहरूको समूह विजय भएको छ । 

जनप्रतिनिधिहरूको टिमको नेतृत्व जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले गर्नुभएको थियो भने कर्मचारीहरूको टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले गर्नुभएको थियो । विजयी दुवै टिमलाई एक हजार रुपियाँ नगद पुरस्कार दिइएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । 

हिलोमै भएको महिला दौड प्रतियोगितामा अनिता खड्का, सरस्वती पुन र भरमाया ओलीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल हुनुभएको छ । उहाँहरूलाई क्रमशः नगद पाँच सय, तीन सय र दुई सय रुपियाँ पुरस्कार प्रदान गरिएको छ । यसका साथै धान दिवसको कार्यक्रममा ल्याइएका हल गोरुलाई प्रतिजोडा दुई हजार रुपियाँ दिइएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यक्रममा कृषि विकास कार्यालयका निमित्त प्रमुख मीन बहादुर केसीले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८१ को सन्दर्भमा तयार गरिएका कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले महत्त्वपूर्ण बालीको रूपमा रहेको धान बालीमा उत्पादन तथा उत्पादकत्वमा कमी आउनुमा जलवायु परिवर्तन एक महत्त्वपूर्ण कारण रहेको बताउनुभयो । उहाँले जिल्लामा चैते धान रोपाइँलाई प्राथमिकता दिइएको समेत जानकारी दिनुभयो ।