• १७ असार २०८१, सोमबार

पानी नपर्दा किसानका खेत बाँझै

blog

बोरिङको पानी तानेर रोपाइँ गर्दै किसान ।

भावना जोशी

अत्तरिया, असार १५  गते । आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् । 

पश्चिम नेपालमा मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङबाट तानेको पानीकै भरमा रोपाइँ गर्नु परेको किसानले बताएका छन् । असार महिनाको मध्ये  हुनै लाग्दा पनि खेतीपातीका लागि पर्याप्त पानी परेको छैन । धेरैजसो खेत अहिले पनि बाँझै रहेका छन् । 

रोपाइँ गरिसक्ने बेला समेत वर्षा नभएपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका –२  का कृषक श्यामराज भट्टले बताउनुभयो । “आकाशे पानी पर्ला भनेर धेरै दिनसम्म रोपाइँ गरेनौ, आज पर्छ भोलि पर्छ भन्दैमा असार समेत जान लागिसक्यो, तर अहिलेसम्म पानी परेन” उहाँले भन्नुभयो, “बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका छौँ ।”

पूर्वी नेपालमा बाढीले वितण्डा मच्चाइ रहेका बेला पश्चिममा पानीको पर्खाइमा किसानले खेती लगाउन समेत पाएका छैनन् । कैलाली, कञ्चनपुर क्षेत्रका किसान बोरिङकै भरमा धमाधम रोपाइँ गरिरहेका छन्  । तीन महिना लामो खडेरीका कारण जमिनमुनिको पानीको सतह सुकेपछि केही स्थानमा बोरिङको पानी समेत आउन छाडेको किसान चिल्लु चौधरीले बताउनुभयो । 

धान रोपेको खेतमा सुक्खा धाँजा फाट्न थालेको उहाँले बताउनुभयो । उहाँले बोरिङकै भरमा यस वर्षको आधा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । “पानी परेपछि रोपाइँ गर्ने आसमा बसेका हामी किसानलाई प्रकृतिले ठगेको छ” उहाँले भन्नुभयो । 

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले भन्नुभयो,  “अहिलेसम्म बोरिङको भरमा मात्र रोपाइँ भइरहेको छ  । आकाशको पानी परेको छैन  ५० प्रतिशत रोपाइँ कैलाली जिल्लामा भएको छ, त्यो पनि यान्त्रीकरण कृषि प्रणालीको कारण भएको हो” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार कैलाली जिल्लामा कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिनमध्ये ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ । कहिले वर्षा कम भएर कहिले वर्षा धेरै भएर किसानले धान तथा गहुँ खेतीमा क्षति व्यहाेर्नु परेको छ ।